रौतहट | नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनमा रौतहट जिल्लाका चार नगरपालिकाले आइतबार शोक बिदा दिएका छन् ।
राजपुर नगरपालिका, परोहा नगरपालिका, इशनाथ नगरपालिका र बौधीमाइ नगरपालिकाले एक दिनका लागि नगरपालिका कार्यालय तथा मातहतका सबै कार्यालय बन्द गर्दै शोक बिदा दिएका हुन् ।
पूर्वमन्त्री आलमको शनिबार बिहान २ः५८ बजे काठमाडौंको केएमसी अस्पताल, सिनामङ्गलमा उपचारका क्रममा निधन भएको थियो ।
राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले सूचना जारी गर्दै नगर प्रमुख मोहम्मद डा. राजिक आलमका बुवा एवम् पूर्वमन्त्री मोहम्मद आफताव आलमको निधनमा आइतबार एक दिनका लागि नगरपालिका तथा मातहतका कार्यालय बन्द रहने जानकारी गराएका छन् ।
त्यस्तै परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले पनि सूचना जारी गर्दै पूर्व सांसद तथा पूर्वमन्त्री आलमको निधनमा गहिरो दुःख व्यक्त गर्दै आइतबार आकस्मिक सेवाबाहेक सबै कार्यालय र शैक्षिक संस्था बन्द रहने बताएका छन् ।
इशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इसराजुल खाँद्वारा जारी सूचनामा समेत पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त गर्दै आइतबार नगरपालिका र मातहतका कार्यालयमा शोक बिदा दिइएको उल्लेख छ ।
यसैगरी, बौधीमाइ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरीले पनि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री आलमको निधनप्रति गहिरो शोक व्यक्त गर्दै एक दिनका लागि नगरपालिका कार्यालय र मातहतका कार्यालय बन्द गरिएको जानकारी दिएका छन् ।
उता, नेपाली कांग्रेससँग सम्बद्ध नेपाल निजामती कर्मचारी युनियन (संघ)ले पनि पूर्वमन्त्री आलमको निधनप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ। संघले स्वर्गीय आलमको आत्माको चिरशान्तिको कामना गरेको छ ।