वीरगंज | कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानमा वितरण हुने रासायनिक मल प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले सुधार गर्न अनलाइन संरचना विकास गर्न लागेको बताउनुभएको छ ।
शनिबार पर्सा र बाराका कृषि तथा पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयहरूको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाट कार्यक्रममा मन्त्री परियारले हालको मल वितरण प्रणालीमा देखिएका समस्यालाई समाधान गर्न डिजिटल प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो ।
“सरकारले अनुदानमा उपलब्ध गराएको मल वास्तविक किसानले सहज र निष्पक्ष रूपमा पाउन नसकिरहेको गुनासा आइरहेका छन्,” मन्त्री परियारले भन्नुभयो, “अब हामी यस्तो अनलाइन प्रणाली विकास गर्दैछौँ जसबाट कुन किसानले कति परिमाणमा मल प्राप्त गरे भन्ने विवरण तुरुन्तै हेर्न सकिनेछ ।”
मन्त्री परियारका अनुसार अनलाइन प्रणाली लागू भएपछि मल वितरणमा हुने मनपरी र पहुँचवालाको दखल अन्त्य हुनेछ । “सरकारी अनुदानको मल कुन सहकारी वा फर्ममा कति पुग्यो र कुन किसानले पायो भन्ने सबै तथ्याङ्क अनलाइनबाटै हेर्न सकिने खालको संरचना तयार हुँदैछ,” उहाँले भन्नुभयो, “यसले अनुदानको मलको दुरुपयोग रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ ।”
मन्त्री परियारले मल वितरणमा सहजीकरण गर्ने पालिका, सहकारी र निजी कम्पनीहरूको अनियमितताका कारण किसानले मल पाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले अनलाइन प्रणालीले वितरणको पारदर्शिता बढाउने र वास्तविक किसानलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सरकारले हाल युरिया मलको मूल्य प्रतिकिलोग्राम रु १४, डिएपीको रु ४३ र पोटासको रु ३१ तोकेको छ। मन्त्री परियारले सरकारले प्रत्येक वर्ष साढे चारदेखि पाँच लाख मेट्रिक टन रासायनिक मल खरिद गर्दै आएको र माग अझै थेग्न नसकिएको बताउनुभयो ।
उहाँले किसानलाई प्राङ्गारिक मलको प्रयोगतर्फ पनि जोड दिँदै विगतका वर्षहरूमा जस्तो यो वर्ष रासायनिक मलको हाहाकार नहुने दाबी गर्नुभयो ।
फरक प्रसङ्गमा मन्त्री परियारले उखु किसानलाई दिइँदै आएको प्रतिक्विन्टल रु ७० अनुदान निरन्तरता दिन मन्त्रिपरिषद्मा प्रस्ताव लगिसकेको जानकारी दिनुभयो । “उखु किसानका समस्यालाई गम्भीरतापूर्वक हेरिएको छ,” उहाँले भन्नुभयो, “मन्त्रालयको तर्फबाट आवश्यक समन्वय भइरहेको छ ।”
त्यसैगरी, मन्त्री परियारले कृषिमा यान्त्रिकीकरणलाई अत्यावश्यक बताउँदै कृषि औजार प्रयोगले लागत घटाउने र उत्पादन बढाउने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
कृषि औजार अनुसन्धान केन्द्र रानीघाटका प्रमुख सचिन मिश्रले यान्त्रिक खेतीका माध्यमबाट उत्पादकत्वमा सुधार हुने बताए भने कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख विश्वेश्वरप्रसाद यादवले भैंसीपालन तथा अन्य नवीन अभ्यासका क्षेत्रमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमका उपप्रमुख डा. अजित झाले उन्नत जातका पन्छीका अण्डा अध्ययन र अनुसन्धानका लागि ल्याउन सहज वातावरण बनाउन कृषि मन्त्रालयसँग आग्रह गर्नुभयो ।
मन्त्री परियारले शनिबार साल्ट्र ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा मौज्दात रासायनिक मल तथा नुनको उपलब्धताको जानकारी लिनुभएको थियो । साथै उहाँले बाराका फत्तेपुर, जीतपुर सिमरा, कोल्हवी र निजगढका किसानहरूसँग छलफल र अन्तर्क्रिया कार्यक्रम गर्नुभएको थियो ।