सप्तरी | छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर बस्तीमा हैजा पूर्ण रूपमा नियन्त्रणमा नआएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । बस्तीमा हैजाबाट दुई बालबालिका सहित एकै परिवारका तीन जनाको मृत्यु भइसकेको छ भने झाडापखालाको सङ्क्रमण फैलिएको छ ।
हैजाको मुख्य स्रोत बस्ती नजिकै बग्ने भलुवाही खोलाको पानी र पोखरी भएको पुष्टि भएको छ । गाउँपालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गर्दै ७ वटा पानीको परीक्षण गर्दा भलुवाही खोलाको पानी र पोखरीको पानीमा हैजाको जीवाणु फेला परेको छ। स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार, समुदायका सबै व्यक्तिलाई पोखरी र खोलाको पानी प्रयोग नगर्न चेतना फैलाउने कार्य सुरु गरिएको छ र निगरानीका लागि स्वंसेवकहरू खटाइएको छ । हाल झाडापखाला सङ्क्रमित १४ जनाको घरमै उपचार भइरहेको छ। डा. आनन्द सिंहका अनुसार स्वास्थ्यकर्मीले उपचारसँगै आवश्यक औषधि वितरण गर्दै आएका छन् । ५३ जना बिरामी उपचारपछि घर फर्किसकेका छन् ।
गैरसरकारी संस्थाको सहयोगमा बस्तीमा सरसफाइ भइरहेको छ र ३० वटा फिल्टर वितरण गरी जनचेतना फैलाइएको छ । गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले पहिलेभन्दा अवस्था सहज भएको बताउँदै स्वास्थ्य चौकीमा ४ शय्या रहेकोमा हाल ८ शय्या बनाइएको जानकारी दिनुभयो ।
स्थानीय स्वास्थ्य चौकीमा बिहीबारदेखि एक जना एमबिबिएस डाक्टर खटाइएको छ भने विपद् व्यवस्थापन समिति पनि तयारी अवस्थामा रहेको छ ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष श्रवणकुमार देवले बस्तीमा खुला दिसापिसाब, शौचालयको अभाव र स्वच्छ पानीको कमीले हैजा फैलिनु दुःखद भएको बताएका छन् ।
तीन वटा मात्र चापाकल भएको मुसहर बस्तीका ९० परिवारले भलुवाही खोलाको पानी र पोखरीमा नुहाउने, भाडा मस्काउने र लुगा धुँदै आएका थिए, जसले हैजा फैलिन प्रमुख भूमिका खेलेको बताइएको छ ।