रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
आइतबार साँझ करिब ५ बजे रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम लोकमार्गको ट्राफिक चेकपोइन्टमा खटिएको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको म.प्र. ०३२०२५ प ९७२१ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा एक सय तीस पिस ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार पक्राउ पर्नेमा सर्लाही जिल्ला लालबन्दी नगरपालिका–१६ तामाङटोलका २७ वर्षीय बुद्धसिंह वाइवा र हरिवन नगरपालिका–३ श्रीपुरका २४ वर्षीय शरिन योञ्जन रहेका छन् ।
प्रहरीका अनुसार स्कुटरको हेन्डलमा रहेको रेनकोटको झोलाभित्र ट्रामाडोल लुकाइछिपाई ल्याउँदै गर्दा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।