सप्तरी | जनता समाजवादी पार्टी नेपाल (जसपा) का केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशको अस्मिता र संविधानमाथि प्रहार भएको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।
स्वास्थ्य उपचारका नाममा प्रदेश बाहिर निस्किनुभएकी मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधान र कानुनी मर्यादाको उल्लङ्घन गर्दै सिन्धुली–महोत्तरी सीमास्थित एक होटलमा गुप्त रूपमा सरकार गठन गरेको आरोप सचिव साहले लगाउनुभएको हो ।
सोमबार बिहान आफ्नो धारणा व्यक्त गर्दै उहाँले मुख्यमन्त्रीसँग राति ४ बजे बिदा लिएर उपचारका लागि निस्किनुभएकी प्रदेश प्रमुखले केही घण्टामै एमाले प्रदेशसभा सदस्य सरोजकुमार यादवलाई सपथ दिलाएर संविधान र प्रदेशको अस्मिताको चीरहरण गरेको बताउनुभयो ।
साहले भन्नुभयो, “यस घटनाले न केवल संविधान र सङ्घीयताको अपमान गरेको छ, बरु मधेश प्रदेशको सम्मान र आत्मसम्मानमा गहिरो चोट पुर्याएको छ ।”
जसपाले यस्तो कार्यको घोर निन्दा र भर्त्सना गरेको जनाएको छ । सचिव साहले भने, “होटलमा बनेको सरकार स्वीकार्य छैन,” भन्दै संविधानको खिल्ली उडाउनेहरूलाई जनताले कहिल्यै माफ नगर्ने चेतावनी दिनुभयो ।
उहाँले सङ्घीयता र मधेशको पहिचान जोगाउन सबै राजनीतिक दल र सचेत नागरिकहरूलाई एकजुट हुन आह्वान गर्दै भन्नुभयो, “सङ्घीयता जोगाऔँ, मधेशको अस्मिता बचाऔँ ।”