जनकपुरधाम । नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेको इशारामा संविधान र प्रदेश संरचनामाथि प्रहार गरेको आरोप लगाएका छन् ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा (३) बमोजिम एमालेका सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस नेता यादवले आपत्ति जनाएका हुन् ।
यादवले भन्नुभयो, “मधेसमा दादागिरी, छापामार शैलीमा प्रदेश प्रमुखले मधेस भवन छाडेर सिन्धुलीमा पुगेर राति मुख्यमन्त्री नियुक्ति र शपथ गराउनुभयो ।”
उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार मधेसमा नयाँ सरकार गठन हुने प्रबल सम्भावना रहेको बताउँदै आइतबार दुई तिहाइ सांसदसहित प्रदेश प्रमुखलाई त्यसबारे ध्यानाकर्षण गराएको स्मरण गराए ।
तर, प्रदेश प्रमुखले त्यसको बेवास्ता गर्दै उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेकाले संविधान र सङ्घीयताको मर्ममाथि प्रहार भएको यादवको दाबी छ ।
यादवले भने, “संविधान र प्रदेशमाथि खेलबाड गर्न खोजिएको छ । एमालेकै कारण देश सखाप भयो, अहिले पनि मधेस प्रदेशलाई थप सखाप पार्ने खेल भइरहेको छ ।”
उनले एमालेकै कोटाबाट नियुक्त प्रदेश प्रमुख भण्डारीले पार्टीअनुकूल भूमिका निर्वाह गरेको आरोप पनि लगाए । “उनीहरूको गतिविधि र प्रवृत्ति जस्तो थियो, त्यसको विरोधमा हामीले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थियौँ,” यादवले भने, “तर, उहाँ मधेस भवनबाट निस्किएर सिन्धुली पुग्नुभयो र मुख्यमन्त्री नियुक्त गर्नुभयो ।”
यादवले प्रदेश प्रमुखको कदमको विरोधमा सडक आन्दोलन वा कानुनी उपचारका माध्यमबाट प्रतिवाद गर्न तयार रहेको स्पष्ट पारे । “हामी छलफलमा छौँ, आवश्यक निर्णय गर्न ढिलो हुँदैन,” उनले बताए ।