रौतहट | रौतहटको कटहरिया नगरपालिकामा करार तथा दैनिक ज्यालादारी कर्मचारीहरूले बक्यौता तलब–भत्ता भुक्तानीको माग गर्दै थालेको तालाबन्दी १५ औँ दिनमा खुलाइएको छ ।
मेयर अजय प्रकाश जैसवालले समस्या समाधानमा कुनै पहल नगरेको भन्दै ९ वटै वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले दबाब स्वरूप लगाइएको तालाबन्दी सोमबार साँझ खोलिएको हो । वडाध्यक्ष चन्दन कुशवाहाका अनुसार तलब निकासा नभए पुनः तालाबन्दी गर्ने सर्तमा ताला खोलेको हो ।
कार्यपालिका सदस्य मनोज कुमार जैसवालले तत्काल मेयरले बोलाउने बैठकमा कुनै पनि प्रस्तावमा हस्ताक्षर नगर्ने सहमति सबै वडाध्यक्ष र नगर कार्यपालिकाबीच भएको जानकारी दिनुभयो ।
नगरपालिकामा हालसालै नियुक्त प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीहरूको तलब निकासालाई पहिलो प्राथमिकतामा राख्ने सहमति जनाएका छन् ।
तालाबन्दीका कारण दुई सातादेखि नगरपालिकाका अत्यावश्यक सेवाहरू—जस्तै नागरिकता सिफारिस, सामाजिक सेवा, राजस्व संकलन लगायतका नियमित कामकाज पूर्ण रूपमा अवरुद्ध भएका थिए । सोमबारदेखि ती सेवाहरू पुनः सुचारु भएका छन् ।