सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर बस्तीमा तीन हप्ता अघि सुरू भएको हैजा अहिलेसम्म पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।
हाल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जना हैजा सङ्क्रमित बिरामी उपचाररत छन् भने झाडापखालाका पाँच जना बिरामी होम आइसोलेसनमा छन् । छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र यादवका अनुसार पछिल्लो २४ घण्टाभित्र मात्रै सात जना नयाँ बिरामी फेला परेका छन् ।
उनका अनुसार अहिलेसम्म ७७ जना बिरामी उपचारपछि निको भइसकेका छन् । पहिले तीनवटा मात्र चापाकल भएको मुसहर बस्तीका ९० परिवारले नुहाउने, भाँडा मस्काउने र लुगा धुने कार्यका लागि भलुवाही खोलाको पानी प्रयोग गर्दै आएका कारण बस्तीमा हैजा फैलिएको पाइएको छ ।
यसै क्रममा स्थानीय बुधन सदाका ८ वर्षीया छोरी राघिनी, ४ वर्षीय छोरा सञ्जीव र ६५ वर्षीय बुबा लक्ष्मण सदा गरी एकै परिवारका तीन जनाको मृत्यु भएको थियो ।
हैजा फैलिन थालेपछि गाउँपालिकाले स्वास्थ्य कार्यालयसँग समन्वय गरी सात वटा पानीको नमुना परीक्षण गर्दा भलुवाही खोला र पोखरीको पानीमा हैजाको जीवाणु भेटिएको गाउँपालिका अध्यक्ष बिद्यानन्द चौधरीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “पहिलेको तुलनामा हैजा र झाडापखाला न्यूनीकरण भएको छ । स्वास्थ्यकर्मीहरू बस्तीका घरघरमा पुगेर उपचारका साथै जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन् ।”
बस्तीका विद्यालय र समुदायमा सरसफाइको महत्त्व, हैजा सर्ने कारण तथा बच्ने उपायबारे निरन्तर सचेतना फैलाउने काम भइरहेको उहाँले बताउनुभयो । सरसफाइका कार्यक्रमहरूमा विभिन्न संघसंस्थाले समेत सहयोग गर्दै आएका छन् ।
हैजाले बिकराल रूप लिएपछि तत्कालका लागि दिसापिसाबका लागि अस्थायी शौचालयको व्यवस्था मिलाइए पनि बस्तीका करिब ९० परिवार अझै पनि दीर्घकालीन शौचालय सुविधा विहीन रहेको स्थानीयहरूले बताएका छन् ।