जनकपुरधाम । मधेश प्रदेशका उपसभामुख बबिता कुमारी राउत ईशरले पाँच जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरिएको सभामुखको निर्णय बदर गर्नुभएको छ ।
बिहीबार सभामुख रामचन्द्र मण्डलले जसपा नेपालका चार र जनमत पार्टीका एक सांसदलाई लगातार १० बैठकमा गैरहाजिर भएको भन्दै सांसद पदबाट हटाउने निर्णय गरेको जानकारी दिएका थिए । तर उपसभामुख ईशरले उक्त निर्णय गलत र प्रतिशोधपूर्ण भएको बताउँदै तत्काल प्रभावबाट बदर भएको घोषणा गर्नुभएको छ ।
उपसभामुखद्वारा जारी विज्ञप्तिमा कारबाहीमा परेका पाँचै सांसद कात्तिक २२ गतेको बैठकमा उपस्थित रहेको प्रष्ट उल्लेख छ । साथै सभामुखले संसद् नियमावली विपरीत हतारमा, प्रतिशोधको भावना राखी निर्णय गरेको आरोप पनि लगाइएको छ ।
विज्ञप्तिमा भनिएको छ,
“मधेश प्रदेशसभा सचिवालयको मिति २०८२/७/२७ गते पाँच जना प्रदेशसभा सदस्यहरूको पद रिक्त सम्बन्धी सूचना सभामुखले आफूमाथि कात्तिक २७ गते पेश गरिएको पदअनुकूल आचरण नगरेको भन्ने प्रस्तावको प्रतिशोधस्वरूप आवेगमा लिएर गरिएको हो । यो प्रस्ताव उपसभामुखसमक्ष पेश भइसकेको तथा छलफलका लागि मिति र समय निर्धारण हुन बाँकी रहेको अवस्थामा सो निर्णय गरिएकोले यसको कुनै वैधानिकता रहँदैन ।”
यससँगै पाँचै सांसदको पद यथावत रहने भएको छ ।

मधेश प्रदेशका पाँच जना प्रदेशसभा सदस्यको पद रिक्त घोषणा गरिएको सूचना उपसभामुखले बदर गर्नुभएको छ । उपसभामुख बबिता कुमारी राउत ईशरद्वारा जारी विज्ञप्तिअनुसार मधेश प्रदेशसभाको पछिल्लो विश्वासको मतसम्बन्धी बैठक कात्तिक २२ गते बसेको थियो र सो बैठकको हाजिरी तथा उपलब्ध भिडियो रेकर्डमा सूचनामा उल्लेख गरिएका सबै प्रदेशसभा सदस्य उपस्थित रहेको प्रमाणित हुन्छ । यस आधारमा पद रिक्त गरिएको सूचना वैधानिक नठहरिएको भन्दै बदर गरिएको उल्लेख छ ।
यसअघि मधेश प्रदेशसभा सचिवालयले लगातार १० बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै पाँच जना सांसदलाई पदमुक्त गर्ने सूचना जारी गरेको थियो । सचिवालयले पद रिक्त घोषणा गरेको सूचनामा सर्लाहीबाट नागरिक उन्मुक्ति पार्टीकी प्रदेशसभा सदस्य उर्मिलादेवी सिंह, जसपा नेपालका सप्तरीबाट मनीषकुमार सुमन, सर्लाहीका सन्जयकुमार यादव, पर्साका सिंहासन सा कलवार र बाराका सारदा शंकरप्रसाद कलवार का नाम समावेश थिए ।
तर उपसभामुखले सो सूचना नियमावली विपरीत, तथ्यविहीन र प्रतिशोधको आधारमा गरिएको भन्दै बदर गरिएको स्पष्ट गरिएको छ । अब पाँचै जनाको प्रदेशसभा सदस्यता यथावत रहने भएको छ ।

मधेश प्रदेशसभामा लगातार फरक–फरक प्रकृतिका पत्र जारी हुन थालेपछि प्रदेशसभा भित्रका विवाद झनै चर्किन थालेका छन्। प्रदेशसभा सचिवालयले बिहीबार जारी गरेको सूचनामा लगातार दस वटा बैठकमा अनुपस्थित रहेको आधारमा पाँच जना प्रदेशसभा सदस्यको पद रिक्त भएको उल्लेख गरेको थियो । संविधानको धारा १८०(घ) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८५ बमोजिम उनीहरू २०८२ कात्तिक २७ गतेदेखि पदमुक्त भएको सूचना जारी गरिएको सचिवालयको दाबी थियो ।
तर उपसभामुख बबिता कुमारी राउत ईशरले सो निर्णय बदर गर्दै जारी गरेको पत्रमा कात्तिक २२ गतेको विश्वासको मतसम्बन्धी बैठकमा पाँचै जना सदस्य उपस्थित रहेको हाजिरी तथा भिडियो रेकर्डबाट प्रमाणित हुने जनाइएको छ । यसले सचिवालयको सूचनालाई आधारहीन ठहर्याउँदै तत्काल प्रभावबाट बदर गरिएको स्पष्ट गरिएको छ ।
यस घटनाक्रमले प्रदेशसभाभित्र नै द्वन्द्वपूर्ण अवस्था सृजना भएको छ। बिहीबारै सात दलका ६४ जना प्रदेशसभा सदस्यहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्न प्रदेशसभा पुगेका थिए । तर उनीहरूलाई सभामुखका समर्थकहरूले दुर्व्यवहार गर्दै हातपात गरेको र केही समय उपसभामुखकै कार्यकक्षमा थुनिएको आरोप लगाइएको छ ।
यस विषयमा सभामुख मण्डलले भने आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ। उहाँका अनुसार सांसदहरू उपसभामुखको कार्यकक्षमा गएर करिब चार घण्टा बसेका थिए र सो अवधिमा के भयो भन्नेबारे आफूले जानकारी पाउन नसकेको दाबी गर्नुभयो । साथै, आफूले आफ्नै कार्यकक्षमा छलफलका लागि बोलाउँदा सांसदहरू नआएको पनि सभामुखको भनाइ छ ।
घटनापछि प्रस्ताव दर्ताका लागि प्रदेशसभामा उपस्थित सात दलका प्रदेशसभा सदस्यहरुलाई प्रहरीले सुरक्षा दिँदै प्रदेशसभा भवनबाट बाहिर निकालेको थियो ।
