महोत्तरी | महोत्तरीको औरही नगरपालिका–१ बाट ठूलो परिमाणको लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बिहीबार साँझ औरही चोकमा नियमित चेकजाँचका क्रममा मोटरसाइकलबाट १० किलोग्राम गाँजा बरामद भएको हो ।
उत्तरबाट दक्षिणतर्फ आइरहेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा कालो झोलाभित्र प्लास्टिक र डोरीले कसेर लुकाइ राखिएको अवस्थामा दुई पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारत, बिहार–वैशाली निवासी २७ वर्षीय गोबिन्द राम र पछाडि सवार २१ वर्षीय एकवाल मोहम्मद रहेका छन् । लागुऔषध लुकाइ लैजाँदै गरेको पुष्टि भएपछि दुवैलाई तत्काल नियन्त्रणमा लिइएको हो ।
बरामद गरिएको गाँजा तथा पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखिएको छ। प्रहरीले यस्तो कारबाही क्षेत्रीय सुरक्षा सुदृढीकरण र लागूऔषध नियन्त्रण अभियान निरन्तर जारी रहेको संकेत भएको बताएको छ ।