जनकपुरधाम । नेपाल–भारतका साधुसन्त, धर्मगुरु र भक्तजनहरूको सहभागितामा पहिलो पटक हरिहरक्षेत्र–मिथिला चौरासी कोस सङ्कीर्तन परिक्रमा शनिबार (कात्तिक २९) देखि सुरु हुने भएको छ ।
भारतको हरिहर क्षेत्र जनजागरण मंच, सांस्कृतिक उत्कर्ष परिषद् पटना, जानकी मन्दिर साधु समाज तथा विश्व हिन्दू परिषद्को समन्वयमा आयोजना हुने पाँच दिवसीय परिक्रमा मिथिलाक्षेत्रको धार्मिक र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
परिक्रमा टोली बिहारको हाजीपुरस्थित हरिहर क्षेत्रबाट प्रारम्भ भई शनिबार दिउँसो २ बजे भिठ्ठामोड हुँदै जनकपुरधाम प्रवेश गर्ने आयोजकले जानकारी दिएका छन् ।
जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासका अनुसार परिक्रमा टोलीको स्वागत नगरदर्शन, दीप प्रज्वलन, सांस्कृतिक प्रस्तुति र जानकी मन्दिरमा प्रसाद ग्रहण लगायत अन्य धार्मिक कार्यक्रममार्फत गरिनेछ । उहाँले यस परिक्रमा मिथिला सभ्यतामा रहेको आस्था, संस्कृति र परम्परालाई प्रगाढ बनाउने महत्वपूर्ण अवसर रहेको बताउनुभयो ।
उत्तराधिकारी दासले जनकपुरधामबाट परिक्रमा यात्रामा सहभागी हुन इच्छुक साधुसन्त तथा श्रद्धालुका लागि जानकी मन्दिर र विश्व हिन्दू परिषद्ले व्यवस्थापन मिलाउने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
कोभिड–१९ पछि रोकिएको उक्त परिक्रमालाई निरन्तरता दिन आगामी वर्षदेखि छ महिनाअगावै तयारी गरी गण्डक, नारायणी, चुरिया, कोशी, चतरा, सुपौल, भागलपुर हुँदै जनकपुरधामसम्म सात वा नौ दिवसीय विस्तारित परिक्रमा आयोजना गर्ने योजना बनाइएको छ ।
नेपाल–भारत मिथिला क्षेत्रका करिब ७ सयभन्दा बढी साधुसन्त, धर्मगुरु र श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ । परिक्रमा टोली हाजीपुरबाट सुरु भई जनकपुरधाम–दरभंगा–वैशाली हुँदै पाँचौं दिनमा पुनः हरिहर क्षेत्र प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।
आयोजकले प्रत्येक स्थानमा प्रवचन, सङ्कीर्तन, सांस्कृतिक कार्यक्रम तथा धार्मिक विधिहरू सञ्चालन हुने बताएका छन् ।