वीरगंज । वीरगंज भन्सार कार्यालयमा छ वर्षदेखि १८५ भन्दा धेरै मालवाहक कन्टेनर अलपत्र अवस्थामा रहेको तथ्य सार्वजनिक भएको छ ।
कोभिड–१९ महामारीअघि तेस्रो मुलुकबाट आयात गरिएका ती कन्टेनर भन्सार प्रक्रिया अघि नबढ्दा वीरगंज सुक्खा बन्दरगाहमा वर्षौंदेखि बेवारिसे अवस्थामा थन्किएका छन् । आयातकर्ताले सामान ल्याए पनि भन्सार जाँचपासका आवश्यक प्रक्रिया पूरा नगरेका कारण मालवस्तुसहितका कन्टेनर थुप्रिन पुगेका हुन् ।
भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार २०७६ सालतिर आयात गरिएका २२० कन्टेनरमध्ये अहिले पनि १८५ वटा अलपत्र छन् । “तीनवटा कन्टेनर कानुनी प्रक्रिया अनुसार फिर्ता भइसकेका छन् । थप १४ वटा खाली भएर अन्तिम प्रक्रियामा छन्,” ज्ञवालीले भन्नुभयो, “बाँकी कन्टेनर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा आवश्यक परामर्श भइरहेको छ ।”
आयातकर्ताको पहिचान अस्पष्ट भएको र कानुनी प्रक्रियासमेत जटिल रहेकाले कन्टेनर व्यवस्थापनमा ढिलाइ भएको भन्सार कार्यालयले जनाएको छ । “अहिले पनि १८५ मालवाहक कन्टेनरलाई मुचुल्का उठाएर सिलबन्दी गरी राखिएको छ,” ज्ञवालीले थप्नुभयो, “कन्टेनर खाली गरी नष्टयोग्य सामग्री व्यवस्थापन गर्न लामो कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको हो ।”
सिलबन्दी गरिएका कन्टेनरमध्ये ९० वटामा केराउ, ६१ वटामा छोकडा, १० वटामा पोस्ता दाना, नौ वटामा सुपारी, सात वटामा आहार पूरक (फुड सप्लिमेन्ट) र दुई कन्टेनरमा मसुरो दाल रहेका छन् । साथै केही कन्टेनरमा चना, ओखर, उडन टुथब्रस, बफेलो हर्न, मुंग दाल र डियो स्प्रे समेत रहेको कार्यालयले जनाएको छ ।
लामो समयदेखि बन्दरगाहमा रहेका सामग्री बिग्रिसकेको आशंका रहेकाले पुनः ‘ल्याब टेस्ट’ आवश्यक छ कि छैन भन्नेबारे अर्थ मन्त्रालय तथा भन्सार विभागसँग समन्वय भइरहेको प्रमुख प्रशासक ज्ञवालीले जानकारी दिनुभयो । “छ वर्षअघि परीक्षणका क्रममा सामग्री राम्रो देखिएको थियो, अहिले बिग्रिएको हुन सक्छ,” उहाँले भन्नुभयो, “नष्ट गर्नुपर्ने सामग्रीको पुनः परीक्षणका विषयमा पनि छलफल चलिरहेको छ ।”