सिराहा । लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमा गाउँब्लक संघर्ष समिति लहानले गाउँब्लक जग्गा सहमति कार्यान्वयनको माग गर्दै कात्तिक ३० गते आइतबारदेखि धर्ना सुरु गरेको छ ।
लहान नगरपालिकामा करिब सात हजार हाराहारीका स्थानीय गाउँब्लक जग्गा फुकुवा नहुँदा समस्या झनै चर्किएपछि संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएको स्थानीयहरूको भनाइ छ । जग्गा फुकुवा प्रक्रिया अघि नबढ्दा बैंकिङ कारोबार, जग्गा बिक्री–वितरणलगायतका कार्य ठप्प बनेको लहान–९ का नेपाली साहले बताए । समस्या समाधानका लागि लहान नगरपालिका–६ का पूर्ववडाध्यक्ष अरुण केसीको संयोजकत्वमा संघर्ष समिति गठन गरेर निरन्तर दबाब दिइएको उनले जानकारी दिए।
मालपोत कार्यालय लहानका प्रमुख डमरुप्रसाद निरौला नियमित रूपमा कार्यालय नबस्ने र विगतमा भएको सहमति अनुसार जग्गा अद्यावधिक प्रक्रिया अघि नबढाएको आरोप संघर्ष समितिले लगाएको छ । कर्मचारी अभाव देखाएपछि लहान नगरपालिकाले कम्प्युटर र दुई जना कर्मचारीसमेत उपलब्ध गराए पनि मालपोत कार्यालयले कामलाई बेवास्ता गरेको समितिका संयोजक अरुण केसीले बताए।
उनका अनुसार कात्तिक ३० गतेदेखि धर्ना, मंसिर १ गते रिले अनशन तथा मंसिर २ गतेदेखि आमरण अनशनमा बस्ने कार्यक्रम तय गरिएको छ ।
गाउँब्लक जग्गा फुकुवा कार्यान्वयनका लागि मन्त्रीपरिषद्को निर्णय भइसकेको अवस्थामा मालपोत कार्यालयका प्रमुख निरौलाले किन ढिलाइ गरिरहेको बुझ्न नसकेको लहान–५ का नेपाली कांग्रेस नेता रामसुन्दर चौधरीले बताए।
यसैबीच, समस्याबारे आवश्यक जानकारी संकलन गरिसकेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मालपोत कार्यालय प्रमुखसँग छलफल गरी चाँडै समाधानतर्फ अघि बढाइने आश्वासन दिए।