जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ। बैठक उपसभामुख बबिताकुमारी राउत इसरले आह्वान गर्नुभएको हो । आजको बैठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको आरोपसहित दर्ता गरिएको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको उपसभामुखले बताउनुभएको छ ।
उपस्थितिबारे सम्पूर्ण सांसद तथा प्रदेशसभा सचिवालयका कर्मचारीहरूलाई अनिवार्य रुपमा उपस्थित रहन आग्रह गर्दै उपसभामुख इसरले बैठकका लागि आवश्यक वातावरण बनाइने बताउनुभएको छ ।
३२ सांसदको मागपछि बैठक आह्वान
मंगलबार ३२ जना प्रदेशसभा सदस्यहरूले उपसभामुखलाई पत्र बुझाउँदै तत्काल बैठक बोलाउन माग गरेका थिए । विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता भरत साहले ३२ सदस्यहरूको हस्ताक्षरसहित बैठक बोलाउन आवश्यक संख्या पूरा भएको जानकारी दिनुभयो। नियमावलीअनुसार २५ प्रतिशत सदस्यले माग गरेमा बैठक बोलाउन सकिने प्रावधान रहेको छ ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्रलगायत सात दलका सांसदहरूको सहभागितामा यो माग गरिएको थियो ।
बैठक अघि कार्यव्यवस्था परामर्श समिति बस्ने
उपसभामुखका अनुसार बैठकअघि बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने छ। अविश्वास प्रस्तावमाथि छलफल अघि बढाउने कानुनी समयसीमा मंसिर ३ सम्म मात्रै भएकाले समयमै प्रक्रिया अघि बढाउन प्रयास भइरहेको उहाँको भनाइ छ। तर सभामुख मण्डलले प्रक्रियालाई सहज रूपमा नलिएपछि जटिलता बढेको उपसभामुख राउतले आरोप लगाउनुभयो।
सचिवालयका कर्मचारी सम्पर्कविहीन, असन्तुष्टि
उपसभामुखले प्रदेशसभा सचिवालयका अधिकांश कर्मचारीहरू सम्पर्कविहीन रहेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँका अनुसार धेरै कर्मचारीले मोबाइल स्विच अफ राखेका छन् र सचिवालय सभामुखको निर्देशनमा मात्रै चल्ने प्रवृत्ति देखिएको छ ।
सभामुखका निजी सचिव बलराम मण्डलले भने मंसिर ३ को बैठकबारे आफूलाई जानकारी नभएको बताउनु भयो। सभामुखले औपचारिक रूपमा बैठक आह्वान नगरेको उनको भनाइ छ ।
अविश्वास प्रस्ताव ६४ सांसदको समर्थनमा दर्ता
२७ कात्तिकमा सभामुख मण्डलविरुद्ध पदीय मर्यादाविपरीत गतिविधि भएको भन्दै ६४ सांसदको समर्थनमा अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। संविधान र कार्य सञ्चालन नियमावलीअनुसार सभामुखले कुनै दलको प्रभावबिना सभा सञ्चालन गर्नुपर्ने प्रावधान भए पनि मण्डलले एक दलको निर्देशनमा चलेको, विपक्षीको उपस्थितिबिना बैठक चलाएको तथा रोस्ट्रम प्रयोगमा भेदभाव गरेको आरोप प्रस्तावमा छ ।
प्रस्ताव दर्ता गर्ने क्रममा सभामुखले सांसदहरूमाथि हातपात गरेको र उनीहरूलाई उपसभामुखको कोठामा थुनिएको आरोप पनि लगाइएको छ । प्रहरीले उनीहरूलाई बाहिर निकालेर नयाँ दर्ता रजिस्टरमार्फत प्रस्ताव दर्ता गरिएको थियो ।
सभामुख विवादित भएपछि सात दलका ७४ सांसदले प्रदेशसभा भवनकै प्राङ्गणमा बसेर वैकल्पिक रूपमा सदन सञ्चालन गरेको घटनापनि ताजा छ ।