मधेश प्रदेश सभाले सभामुख रामचन्द्र मण्डलविरुद्ध दर्ता भएको ‘पदअनुकूल आचरण नभएको’ प्रस्ताव दुई–तिहाइ बहुमतले अनुमोदन गर्दै उनलाई पदमुक्त गरेको छ ।
बुधबार बसेको प्रदेश सभाको बैठकमा लामो छलफलपछि गरिएको मतविभाजन प्रक्रियामा प्रस्तावको पक्षमा ७६ मत खसेपछि मण्डलको पद स्वतः अन्त्य भएको हो । उपसभामुख बबिताकुमार राउत ईशरले बैठकमै मण्डल पदमुक्त भएको घोषणा गरिन् ।
आजको बैठकमा ७८ सांसदको उपस्थिति रहेको थियो। सभामुखविरुद्धको प्रस्ताव सात दलीय गठबन्धनका ६४ जना सांसदले दर्ता गरेका थिए । मण्डलमाथि पक्षपातपूर्ण आचरण, बैठक सञ्चालनमा निष्पक्षता न्यूनता र प्रक्रिया अवहेलना समेतका आरोप लगाइएको थियो ।
पदमुक्तपछि प्रदेशसभामा नयाँ सत्ता समीकरणको संकेत
सभामुख पद रिक्त भएसँगै प्रदेशसभामा नयाँ राजनीतिक समीकरण र नेतृत्व चयनको प्रक्रिया तीव्र हुने देखिन्छ । सातदलीय गठबन्धन अब नयाँ सभामुख चयनमा अग्रसर हुनेछ ।
यस घटनालाई मधेश प्रदेशको हालैको राजनीतिक अस्थिरताको प्रमुख मोडका रूपमा विश्लेषण गरिएको छ ।