सिरहा | कमला पुल भासिँदै गएपछि उत्पन्न भएको यातायात समस्या समाधानका लागि ऊर्जा मन्त्री कुलमान घिसिङ र खेलकुद मन्त्री बब्लु गुप्ता शुक्रबार बिहान स्थल निरीक्षणमा पुगेका छन् । उनीहरूसँगै जेन–जी अभियन्ता सुधन गुरुङ, शिव यादव र पुरुषोत्तम यादव पनि निरीक्षण टोलीमा सहभागी थिए ।
निरीक्षणपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्रीद्वयले भने, “धेरै बोल्दैनौँ, काम गरेर देखाउने हो । अहिले भासिएको पुल प्रयोगयोग्य नठहरिए नयाँ पुल निर्माणको प्रक्रिया तत्कालै अघि बढाउँछौँ ।”
स्थानीयस्तरमा निरन्तर दबाब सिर्जना गर्दै आएका जेन–जी अभियन्ताहरू सुधन गुरुङ, शिव यादव र पुरुषोत्तम यादवले पनि पुल निर्माणका लागि आवश्यक सबै पहलमा साथ रहने प्रतिवद्धता जनाएका छन् ।
उनीहरूले भने, “कैयौँ मन्त्री, सचिव र नेता आए—पुल निरीक्षणको नाटक मात्रै गरे । तर पुलको अवस्था ज्यूँका त्यूँ छ । कम्तिमा आजको निरीक्षणले सार्थकता पाओस् भन्ने अपेक्षा छ ।”
कमला पुल अवरुद्ध हुँदा हुलाकी सडकमार्गमार्फत आवागमन प्रभावित बनेको छ। यो मार्ग मधेसको ‘लाइफ लाइन’ मानिँदै आएको छ। पुल नबर्दा मधेसका हजारौँ नागरिक दैनिक दुर्गति व्यहोर्न बाध्य छन् ।
जनताले भोगिरहेको वास्तविक अवस्था प्रत्यक्ष अवलोकन गर्दै पुल पुनर्निर्माण प्रक्रियालाई तत्काल अघि बढाउने प्रतिबद्धता जनाएकोमा स्थानीयवासीले मन्त्रीद्वय र जेन–जी अगुवाप्रति आभार व्यक्त गरेका छन् ।

