कलैया उपमहानगरपालिका–३ का पाँच पटक वडा अध्यक्ष रहेका समाजसेवी नगिना साहले जितपुर सिमरा उपमहानगरपालिका–१९ मधुरापुरस्थित ब्रहम बाबा मन्दिरलाई एक कठ्ठा जग्गा दान गरेका छन् ।
मुख्य सडक छेउको जग्गा ब्रहम बाबा मन्दिर संरक्षण समितिलाई दान गरेपछि स्थानीय बासिन्दामध्ये खुशीको लहर फैलिएको छ । मन्दिर परिसरमै आयोजित दान कार्यक्रम स्थानीयवासी तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।
समाजसेवी साहले धार्मिक स्थलहरूको संरक्षण र समृद्धिका लागि समुदायको सक्रिय भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे । उनले आफ्नो र श्रीमती गीता देवीको मनोकामना पूरा भएको भन्दै— “यो जग्गा मन्दिर विस्तार, धर्मशाला निर्माण तथा भक्तजनका आवश्यक सुविधा व्यवस्थापनमा उपयोग हुने,”— उदेश्यले जग्गा दान दिएकाे हाे ।
वडा अध्यक्ष दिपेन्द्र कुमार छेत्रीले धार्मिक तथा सांस्कृतिक विकासमा साहले पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे । वडा सदस्य मदन साह तेलीले पनि साहको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै— “यो कदमले सम्पूर्ण वडावासीलाई प्रेरित गर्नेछ,” उनले बताए ।
मन्दिर संरक्षण समितिका अध्यक्ष लालबाबु साहका अनुसार समाजसेवी नगिना साहको दानले ब्रहम बाबा मन्दिरको विस्तार र संरक्षण कार्यलाई नयाँ ऊर्जा मिलेको छ । स्थानीय पासपत पास्वानले दानकर्ताको यो कदमलाई “समाज र संस्कृतिप्रति समर्पणको उज्वल उदाहरण” भन्दै स्वागत गरे । मन्दिर समितिका पदाधिकारीहरूले दानदाताप्रति आभार व्यक्त गर्दै सबै निर्माण तथा विकासकार्य योजनाबद्ध रूपमा अघि बढाइने जानकारी दिएका छन् ।
कार्यक्रममा पाँच सयभन्दा बढी स्थानीयवासी उपस्थित रहेको समितिका सचिव भरोश दास थारुले जानकारी दिए ।