मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मन्त्रिपरिषद् विस्तार भएको १५ दिनपछि मन्त्रीहरूबीच जिम्मेवारी बाँडफाँड गरेका छन् ।
नयाँ तोकिएको जिम्मेवारी सोमबारदेखि लागू हुने प्रदेश सरकारको विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री यादवले भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, उद्योग, वाणिज्य तथा पर्यटन, शिक्षा तथा संस्कृति, स्वास्थ्य तथा जनसङ्ख्या, अर्थ, खेलकुद तथा समाज कल्याण, श्रम तथा यातायात तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय आफ्नै मातहतमा राखेका छन् ।
यसैगरी, सरकारमा समावेश तीन मन्त्रीलाई छुट्टाछुट्टै मन्त्रालय तोकिएको छ ।
- लखन दास ततमालाई ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय,
- विमला अंसारीलाई गृह, सञ्चार तथा कानून मन्त्रालय,
- कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको छ ।
मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा मन्त्रालयबीच समन्वय बढाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने र सरकारी कामको गति तेज पार्ने लक्ष्यसहित स्पष्ट कार्यविभाजन गरिएको उल्लेख गरिएको छ ।