सप्तरी । राजविराजस्थित कारागारमा भगवान् राम र माता सीताको विवाहका विभिन्न धार्मिक विधि सम्पन्न गर्दै यस वर्षको विवाहपञ्चमी उत्सव विशेष रूपमा मनाइएको छ । त्रेता युगमा अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी सीताको जनकपुरमै भएको ऐतिहासिक विवाहलाई स्मरण गर्दै कैदीबन्दीहरूले समेत भक्ति–उत्साहका साथ कार्यक्रम आयोजना गरेका हुन् ।
कारागारभित्र राम–सीताको माटोको मूर्ति र तस्बिर राखेर पूजापाठ, भजन–किर्तन र पापमोचनका लागि प्रार्थना गरिएको कैदी सत्रुघन मुखियाले बताए । विवाहपञ्चमी मङ्गलबार परेको कारण कतिपय कैदीबन्दीहरूले व्रत बसेका साथै हनुमानदेवको पूजा र हनुमान चालीसा वाचनसमेत गरिएको जेलर गंगालाल योगीले जानकारी दिए ।
विवाहपञ्चमीको अवसरमा मंगलबार बिहानैदेखि शुरू भएको भजन–किर्तन तथा पूजापाठमा ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रबाट पुगेको टोलीले पनि सक्रिय सहभागिता जनायो । ओमशान्ति मिडियाका प्रभारी दिनानाथ यादवको नेतृत्वमा पुगेको टोलीले कैदीबन्दीलाई सत्मार्गमा हिँड्न, पापबाट मुक्ति पाउन तथा जेलजीवनपछि समाजमा आवश्यक आचरण र व्यवहारबारे मार्गदर्शन प्रदान गरेको केन्द्रले जनाएको छ ।
उता, विवाहपञ्चमीकै अवसरमा राजविराजस्थित राम मन्दिर समितिद्वारा गठित विवाहपञ्चमी उत्सव समारोह तथा पूजा समितिको अगुवाइमा भव्य शोभायात्रा पनि निकालिएको छ । शोभायात्रामा उल्लेख्य संख्यामा भक्तजनले सहभागिता जनाएका थिए। समितिका संयोजक सूर्यनारायण यादवका अनुसार समाजमा सद्भाव, सुख–शान्ति र एकताको सन्देश दिन शोभायात्रा आयोजना गरिएको हो ।
सप्तरीका विभिन्न स्थानमा पनि एक गाउँबाट जन्ती लिएर अर्को गाउँ पुगी मिथिला संस्कृतिअनुसार राम–सीताको प्रतीकात्मक विवाह गरी विवाहपञ्चमी उत्सव मनाउने परम्परा निरन्तर रूपमा चलिँदै आएको छ ।