बारा । बारा प्रहरीले एक चिनियाँ बेहुलासहित तीन जनालाई नाबालिकासँग विवाह गर्ने प्रयासको आरोपमा नियन्त्रणमा लिएको छ । करैयामाई गाउँपालिका–१ हरैयामा बुधवार मध्यराति एक चिनियाँ नागरिकले नेपाली मुस्लिम समुदायकी नाबालिकासँग विवाह गर्न लागेको अवस्थामा प्रहरीले दखल दिँदै विवाह प्रक्रिया रोकेको हो ।
प्रहरीका अनुसार नाबालिकासँग विवाह हुन लागेको पुष्टि भएपछि तत्काल बेहुला, बेहुली र बेहुलीका बाबुलाई नियन्त्रणमा लिइएको छ । उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय कलैयामा राखेर थप अनुसन्धान भइरहेको बताइएको छ। पक्राउ परेकाहरूको नाम सार्वजनिक गरिएको छैन ।
प्रारम्भिक अनुसन्धानमा चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा दुवै रहेको पाइएको प्रहरी स्रोतले जनाएको छ । पछिल्ला वर्षहरूमा सो गाउँ तथा आसपासका क्षेत्रमा चिनियाँ नागरिकसँग मुस्लिम समुदायका महिलाहरूको विवाह हुने घटना दोहोरिँदै आएको सुराकी पाएपछि प्रहरीले यस क्षेत्रमा निगरानी कडा पारेको छ । स्थानीयका अनुसार गत एक वर्षमै त्यही बस्तीमा चिनियाँ नागरिकसँग तीनवटा विवाह भइसकेका छन् ।
वडाध्यक्ष सोनालाल साहका अनुसार चिनियाँ नागरिक विवाह गर्ने उद्देश्यले बालिकाको घरमै पुगेका थिए । नेपाली कानुनअनुसार पुरुषको २२ वर्ष र महिलाको २० वर्ष उमेर पुगेपछि मात्र विवाह गर्न पाइन्छ। तर पक्राउ परेकी युवतीको उमेर १८ वर्ष मात्र रहेको पुष्टि भएपछि प्रहरीले विवाह रोक्नुपर्ने बाध्यता आएको जनाइएको छ ।
प्रहरीले यस विषयमा विस्तृत अनुसन्धान अघि बढाएको छ ।