जनकपुरधाम । सीताराम विवाहपञ्चमी मेलाको भीडभाडको फाइदा उठाउँदै चोरी र पाकेटमारी गर्ने ६३ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ३७ जना भारतीय तथा २६ जना नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ ।
धनुषाका डिएसपी गणेश भट्टका अनुसार जनकपुरधामका विभिन्न स्थानबाट ५० पुरुष र १३ महिला सहित ६३ जनालाई नियन्त्रणमा लिइएको हो । उनीहरू मेलामा आएका श्रद्धालुहरूलाई लक्षित गरी चोरी, पाकेटमारी तथा लुटपाटमा संलग्न रहेको बताइएको छ ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद १ लाख २७ हजार ८४ रुपैयाँ, १५ थान मोबाइल फोन, १२ थान मंगलसूत्र, अन्य सुनजस्ता गरगहना तथा तीन थान चाँदीका औँठी बरामद गरेको छ ।
धनुषाका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार भीडभाडका बीच आपराधिक क्रियाकलाप बढ्न सक्ने सम्भावना भएकाले सादा तथा पोशाक दुबै प्रकारका प्रहरी व्यापक रूपमा परिचालन गरिएको थियो । विशेषगरी तीर्थयात्रीहरू विश्राम गर्ने स्थानमा सादा पोशाकमा प्रहरी खटाइएपछि चोर–पाकेटमारको ठूलो समूह पक्राउ पर्न सफल भएको प्रहरीले जनाएको छ ।