बाराको प्रसौनी गाउँपालिका–६ मा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको छ ।
सर्लाही धनकौल घर भएका ४२ वर्षीय राम किशोर सिंहको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । डीएसपी पण्डितका अनुसार मृतक सिंह प्रसौनीस्थित किरण वेबरेज का व्यवस्थापक हुन् ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने, प्रारम्भिक प्रमाण संकलन गर्ने तथा आसपासका स्थानीयवासीसँग बयान लिने काम अघि बढाइरहेको छ । “प्रारम्भिक अनुसन्धान अनुसार उनको घाँटी रेटेर हत्या गरिएको पुष्टि भएको छ,” डीएसपी पण्डितले भने, “घटना कसरी र किन भयो भन्ने सबै कोणबाट हामी अनुसन्धान गरिरहेका छौँ ।”
घटनाको कारण र संलग्न व्यक्तिबारे प्रहरीले हालकाे अवस्थामा कुनै अनुमान सार्वजनिक गरेको छैन ।
यसबारे थप तथ्य अनुसन्धानसँगै खुल्ने प्रहरीले जनाएको छ ।