सिराहा | गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा हिँडेपछि जिल्लाभर कृषि क्षेत्र महिला मजदुरकै भरमा चल्दै आएको छ । हाल धान भित्र्याउने चटारो चलिरहेकामा पनि महिला मजदुर नै मुख्य रूपमा सक्रिय देखिएका छन् ।
लहान–१९, कटहाका कृषक रामअधीन यादवका अनुसार पछिल्लो समय कृषि यान्त्रिकीकरणले किसानलाई केही राहत त दिएको छ, तर कृषि मजदुरको अभाव झनै बढेको छ । उहाँले भन्नुभयो, “धान खेतमा पानी जमेकाले कम्पाइन्डर मेसिन चलाउन समस्या छ । गाउँका अधिकांश पुरुष विदेश गएकाले घरका महिलालाई पनि खेतमा मजदुरी नगर्न भनिन्छ । त्यसैले मजदुर पाउनै मुस्किल छ । अहिले मुसहर समुदायका मजदुरको भरमा जसोतसो धान भित्र्याइएका छौं ।”
युवालाई कृषि पेशामा आकर्षित गर्न नसकिँदा र वैदेशिक रोजगारी बढ्दै जाँदा कृषि क्षेत्र निरन्तर कमजोर बन्दै गएको कृषक अगुवा लहान–१३ का भगवानदत यादवको बुझाइ छ । उहाँ भन्छन्, “बेमौसमी वर्षाले गहुँ र तरकारीबाली लगाउन समेत समस्या परेको छ । यो वर्ष किसान झनै संकटमा छन् ।”
कृषि ज्ञान केन्द्र सिराहाका प्रमुख नरेन्द्र महासेठका अनुसार जिल्लाका १७ वटै पालिकामा कृषि मजदुरका रूपमा महिला नै बढी सक्रिय छन् । उहाँका अनुसार यो वर्ष गत वर्षको तुलनामा २० प्रतिशत कम धान उत्पादन हुने अनुमान गरिएको छ । सिराहामा करिब ५४ हजार हेक्टर जमिनमा धान खेति हुने गर्छ, तर उत्तरी भेगमा सिँचाइको अभावका कारण कैयन् हेक्टर जमिनमा यस वर्ष धानबाली लगाउनै नपाइएकोले उत्पादनमा ठूलो ह्रास देखिएको छ ।