सिराहा । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालको सहकार्यमा सञ्चालन भइरहेको निःशुल्क आँखा शिविरबाट विपन्न समुदाय ठूलो संख्यामा लाभान्वित भएका छन् ।
नगरपालिकाका अनुसार विगत तीन वर्षदेखि निरन्तर सञ्चालनमा रहेको उक्त शिविरमार्फत २४ वटै वडामा १७ हजार ३६४ जना बिरामीको आँखा परीक्षण गरिएको छ । तीमध्ये १ हजार ९०५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरियो भने ७ हजार बिरामीलाई औषधि र ३ हजारलाई चश्मा वितरण गरिएको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिए ।
विपन्न समुदायका लागि निःशुल्क आँखा जाँच तथा शल्यक्रियामा लहान नगरपालिकाले २५ लाख रुपैयाँ खर्च गरेको नगर प्रमुख महेश चौधरीले बताए । आफ्नो कार्यकालमा लहानमा आँखा रोगका कारण कुनै पनि विपन्न नागरिक उपचारविहीन नबस्ने प्रतिबद्धता उनले व्यक्त गरे ।
सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरीका अनुसार लहानसहित सिराहा–सप्तरीका १७ स्थानीय तहमा सञ्चालन भइरहेको निःशुल्क आँखा अभियानबाट हजारौँ बिरामी लाभान्वित भएका छन्। लहानबाट सुरु भएको यो अभियान मधेश प्रदेशका अन्य पालिकामा पनि विस्तार हुँदै गएको उनले बताए ।
लहान–२० का हरिदेव सदायले आँखा नदेख्नेहरूका लागि ‘सृष्टि नै अन्धकार’ हुने अवस्थामा यस अभियानले जीवनमा उज्यालो फर्काएको भन्दै खुसी व्यक्त गरे । अस्पतालका तथ्यांकअनुसार ४० वर्षभन्दा माथिका ९० प्रतिशत विपन्न नागरिक यस शिविरबाट प्रत्यक्ष लाभान्वित भएका छन् ।
सामान्यतया मोतियाविन्दुको शल्यक्रियामा ५ हजारदेखि १० हजार रुपैयाँ खर्च हुने हुँदा निःशुल्क सेवा विपन्नका लागि ठूलो राहत बनेको छ ।