पूर्वपश्चिम राजमार्ग विस्तारका लागि सर्लाही, महोत्तरी र धनुषा जिल्लामा करिब साढे ११ हजार रुख कटानको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।
लामो प्रतीक्षापछि डिभिजन वन कार्यालय, वन तथा भू–संरक्षण विभाग र वन तथा वातावरण मन्त्रालय हुँदै सम्पूर्ण प्रशासनिक प्रक्रिया पूरा भएपछि रुख कटानको अनुमति प्राप्त भएको हो ।
कमला–ढल्केबर–पथलैया सडक योजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने तीन जिल्लामा गरी ११ हजार ५७७ वटा रुख काटिने तयारी छ । सबैभन्दा धेरै साल प्रजातिका रुख कटान हुने जनाइएको छ । सडक आयोजनाका सूचना अधिकारी राजकिशोर सिंहका अनुसार चार लेन विस्तारको क्रममा सबैभन्दा बढी रुख महोत्तरीमा काटिनेछ ।
महोत्तरीमा ६ हजार २७, सर्लाहीमा ३ हजार ६७४ र धनुषामा १ हजार ८७६ रुख कटान गरिनेछ। सर्लाही र धनुषामा कटान कार्य सुरु भइसकेको छ भने महोत्तरीमा बाँके सवडिभिजन वन कार्यालयका केही प्राविधिक काम बाँकी रहेकाले सुरु हुन दुई–चार दिन लागेको आयोजनाले जनाएको छ ।
रुख कटानका लागि मन्त्रीपरिषद्को निर्णय अनिवार्य हुने भएकाले अनुमति नआउँदा महिनौँसम्म सडक विस्तारको काम प्रभावित भएको थियो । आदेश प्राप्त भएपछि ठेकेदारमार्फत रुख कटान तीव्र गतिमा भइरहेको छ। कटान गरिएका रुख ठेकेदारले घाटगद्दी गरी सम्बन्धित डिभिजन वन कार्यालयमा बुझाउनेछन्। त्यसपछि वन कार्यालयले लिलामी प्रक्रियामार्फत काठ व्यवस्थापन गर्नेछ ।
यद्यपि रुख कटानको समस्या समाधान भए पनि बिजुलीका पोल स्थानान्तरण र खानेपानी पाइपको व्यवस्थापन अझै चुनौती बनेको पूर्वी खण्डका आयोजना प्रमुख राजेशकुमार दासले बताए । उनका अनुसार बिजुलीको पोल सार्न ढिलाइ हुँदा निर्माण व्यवसायीहरू लगातार गुनासो गरिरहेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई चाँडोभन्दा चाँडो पोल र तार व्यवस्थापनका लागि ताकेता गरिएको दासले जानकारी दिए ।
कतिपय स्थानमा रुख नकाटिँदा पोल हटाउन नसक्ने, र कतै पोल नहट्दा रुख काट्न नसक्ने परिस्थितिले कार्यसम्पादनमा थप कठिनाइ आएको आयोजनाले जनाएको छ। कमला पुलदेखि पथलैयासम्मको १३० किलोमिटर सडक विस्तारमा गत वर्षदेखि तीव्र गतिमा काम भइरहेको छ । त्यस्तै, रौतहट र बारा खण्डका लागि चन्द्रनिगाहपुरमा नयाँ कार्यालय स्थापना गरी पश्चिमी खण्डमा पनि काम अघि बढाइने भएको छ ।
हाल दुई लेन रहेको पूर्वपश्चिम राजमार्गलाई विस्तार गरी बजार क्षेत्रमा ६ लेन (३१ मिटर चौडाइ) र अन्य क्षेत्रमा ४ लेन (१८ मिटर चौडाइ) बनाइनेछ । परियोजनाका लागि विश्व बैंकले १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग प्रदान गरेको छ ।
उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।