जनकपुरधाम । हुलाकी सडकअन्तर्गत धनुषा–सिराहा जोड्ने कमला नदीमा भासिएको पुलको पुनर्निर्माण कार्य पुनः तीव्र पारिएको छ । निर्माणको जिम्मेवारी पाएका लुम्बिनी बिल्डर्सले असार अगावै पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ । कम्पनीका सञ्चालक विष्णुप्रसाद शर्माका अनुसार हाल स्थलमा आवश्यक सामग्री तथा जनशक्ति परिचालन गरी निर्माण गतिमा ल्याइएको छ ।
सन् २०६८ मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि पप्पु कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो । तर, पटक–पटक म्याद थपिँदै करिब १० वर्षपछि ९५ प्रतिशत काम सम्पन्न भएको अवस्थामा २०७८ असारको बाढीले पुल भासिएपछि योजना अनिश्चित बन्न पुगेको थियो ।
निर्माणमा निरन्तर ढिलाइ गरेकाले पप्पु कन्स्ट्रक्सनलाई हटाई लुम्बिनी बिल्डर्सलाई पुनर्निर्माणको जिम्मा दिइएको थियो। लुम्बिनी बिल्डर्सले २०८० माघ २ गतेदेखि छ महिनाभित्र काम सक्ने लक्ष्यसहित पुनर्निर्माण सुरु गरे पनि तोकिएको समयमा सम्पन्न हुन सकेको छैन । हाल ४६९ मिटर लामो पुलको भौतिक प्रगति ८३ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत शनिबार स्थल निरीक्षण गर्दै ठेकेदारलाई बाँकी काम तत्काल अघि बढाउन निर्देशन दिएका थिए । उनले नियमित अनुगमन तथा सहजीकरणमार्फत पुल समयमै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।
पुल समयमा निर्माण नहुनु सिराहा–धनुषाका स्थानीयका लागि लामो समयदेखि प्रमुख समस्या बनेको छ। यही मागसहित केही महिनाअघि स्थानीयवासी तथा जनप्रतिनिधिहरू मधेश प्रदेश मुख्यमन्त्री कार्यालयअगाडि धर्नामा समेत बसेका थिए। तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहले छिटो काम सम्पन्न गराउने आश्वासन दिएका थिए ।
सिराहा तथा सम्पूर्ण पूर्वी क्षेत्रलाई जनकपुरधाम—मधेश प्रदेशको राजधानी—सँग छोटो दूरीमा जोड्ने राष्ट्रिय गौरवको आयोजनामा पर्ने कमला पुल समयमै नबन्दा स्थानीय वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । पुनर्निर्माण तीव्र बनेसँगै अब पुल सञ्चालनमा आउने अपेक्षा स्थानीयमा बढेको छ ।