जेन–जी आन्दोलनका नेता पुरुषोत्तम शुप्रभात यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । रास्वपाले आह्वान गरेको समानुपातिक उम्मेदवार दर्ता प्रक्रियाअन्तर्गत यादवले आफ्नो नाम दर्ता गराइसकेको पार्टीले जनाएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले सिधाकुरासँग कुरा गर्दै जेन–जी नेता यादवले पार्टीले तोकेको म्यादभित्रै रास्वपा प्रवेश गरी समानुपातिक उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।
यादव सिराहा जिल्लाका हुन् । जनस्तरमा सक्रिय युवा नेतृत्वका रूपमा परिचित यादवको पार्टी प्रवेशसँगै मधेस प्रदेशमा रास्वपाको संगठन थप मजबुत हुने अपेक्षा गरिएको छ ।
प्रवक्ता झाले जेन–जी आन्दोलनबाट उदाएका युवा नेताहरूको सहभागिताले पार्टीको समावेशी र परिवर्तनमुखी राजनीतिक एजेन्डालाई थप बल पुग्ने विश्वास व्यक्त गरे ।
रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अघि बढाइरहेको छ । यस क्रममा विभिन्न क्षेत्र र पृष्ठभूमिका युवाहरू पार्टीमा आबद्ध हुँदै समानुपातिक उम्मेदवारी दर्ता गरिरहेका छन् ।
पार्टीका अनुसार समानुपातिक उम्मेदवारहरूको अन्तिम सूची आन्तरिक छलफल तथा मूल्यांकनपछि सार्वजनिक गरिनेछ ।