पर्सा जिल्लाका उखु किसानहरू अहिले उखु कटानमा व्यस्त छन् । उखु किसान महासङ्घ, पर्साका अध्यक्ष असर्फी साहका अनुसार अहिले किसानहरूले रोपेको खुटी उखु मात्र कटाइरहेका छन् । खुटी उखु काटिसकेपछि मोरहन उखु कटान गरिन्छ । पुसमा खुटी उखु र माघको अन्त्यसम्म मोरहन उखुको कटानी हुने गर्दछ ।
पहिलो वर्ष उखु खेती गरेका किसानहरूले अर्को वर्ष नयाँ उखु रोप्दैनन् । काटेर छाडिएको खुटीबाटै पुनः उत्पादन हुन्छ ।
गत वर्ष उखुको मूल्य ५८८ रुपैयाँ प्रतिक्विन्टल तोकिएको थियो र सरकारले ७० रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । तर किसानहरूले अहिलेसम्म उक्त रकम पाएका छैनन् । यस वर्ष सरकारले ६२० रुपैयाँ प्रतिक्विन्टल मूल्य निर्धारण गर्दै ७० रुपैयाँ अनुदान दिने घोषणा गरेको छ, तर किसानहरूले लगानीअनुसार मुनाफा नभएको गुनासो गरेका छन् ।
किसानहरूले साहु–महाजनबाट ऋण लिएर खेती गर्ने गर्छन्, तर समयमा सरकार र मिल दुवैले भुक्तानी नगर्दा समस्या हुन्छ । उखु खेती तयार हुन १३ महिनासम्म समय लाग्छ, जबकि अन्य बालीमा यति समयमा तीन बाली लिन सकिन्छ । त्यसैले पर्साका किसानहरू क्रमशः उखु खेतीबाट पलायन हुँदै छन् ।
पर्सामा उत्पादन हुने उखु छिमेकी बाराको रिलायन्स सुगर मिल र रौतहटको बाबा बैजुनाथ सुगर मिलले खरीद गर्दै आएका छन् । तर यी मिलहरूले नियमित भुक्तानी नगर्दा किसानहरू घाटामा छन् ।
सरकारको अनुदान र मिलको भुक्तानी अभावका कारण किसानहरू विस्थापित हुँदै गएको अध्यक्ष साहले बताए । प्राविधिक सहयोग नपाएको र परम्परागत रूपमा खेती गर्दा उत्पादन बढ्न नसकेको र लागतअनुसार मुनाफा कमाएको उनले बताए ।
साथै, किसान सङ्घले विगत सात वर्षदेखि किसान र मिलबाट प्रतिक्विन्टल ३० पैसाको दरले सहयोग पाउने गरेकोमा हाल यो पनि रोकिएको छ । मिलले किसानसँग कट्टा गरेर पनि सङ्घलाई भुक्तानी नगरेको र पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको अध्यक्ष साहले बताए ।