जिल्ला उद्योग वाणिज्य संघ सिरहाको पुस ५ गते हुने भनिएको निर्वाचन कार्यक्रम उच्च अदालत जनकपुरको आदेशअनुसार स्थगित भएको छ ।
संघका प्रमुख निर्वाचन अधिकृत उद्धव हमालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ कि उच्च अदालत जनकपुर, राजविराज इजलासले पुस २ गते गरेको आदेशअनुसार अर्को फैसला नहुन्जेलसम्म निर्वाचन प्रक्रिया रोकिएको हो । अध्यक्ष पदका उम्मेदवार श्याम गुप्ताले एशोसिएटसमा दर्ता भएका उम्मेदवारको हकमा दर्ता भएका उम्मेदवारी प्रस्तावक र समर्थकमा पनि सोही एशोसिएटसका सदस्यबाट सही छाप गराउनुपर्ने संघको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए ।
उक्त रिटमा सुनुवाई गर्दै उच्च अदालत, जनकपुर राजविराज इजलासका न्यायाधीश पुण्यशिला दवाडी घिमिरेको एकल इजलासले तत्काल निर्वाचन प्रक्रिया रोक्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले दुबै पक्षको छलफल आवश्यक देखाउँदै पुस ११ गते दुबै पक्षलाई सबूतसहित छलफलका लागि बोलाएको छ ।