विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जमा ठूलो परिमाणको लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहत वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिवार साँझ वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुर ढाँटस्थित सडकखण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.३ ख ५०९३ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी उपरिक्षक सुदिप राज पाठकले बताए ।
उनका अनुसार प्रहरीले कानुनी प्रक्रिया पूरा गरी ट्रक जाँच गर्दा क्याबिनको माथिल्लो भागमा फल्स बनाएर लुकाइछिपाइ राखिएको अवस्थामा २ सय ४० केजी लागूऔषध चरेश जस्तो देखिने पदार्थ फेला पारी बरामद गरेको हाे ।
उक्त ट्रकका चालक मकवानपुर जिल्ला थाहा नगरपालिका–११ निवासी २९ वर्षीय सरोज मोक्तान र सोही स्थानका २१ वर्षीय नवराज लो लाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरामद लागूऔषध र ट्रकसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।