मधेस प्रदेशमा सरकार गठन भएको १७ दिन बितिसक्दा पनि मन्त्रीपरिषद अझै पूर्ण हुन सकेको छैन ।
६ दलको समर्थनमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा मंसिर १९ गते गठन भएको सरकारले प्रारम्भिक चरणमा नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादीबाट एक–एक जना मन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेको थियो । त्यसपछि सत्तारुढ गठबन्धनका बाँकी दलबाट पनि एक–एक जना मन्त्री थपिए तापनि अझै सबै मन्त्रालयमा मन्त्री नियुक्त हुन सकेका छैनन् ।
स्रोतका अनुसार सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबन्डा लगभग टुंगो लागिसकेको छ । तर आन्तरिक समन्वय र समय व्यवस्थापनका कारण मन्त्रीपरिषद विस्तार ढिला भएको बताइएको छ ।
यसैबीच, मुख्यमन्त्री कृष्णा यादव आज काठमाडौं जाने कार्यक्रम रहेको छ । सरकार स्रोतका अनुसार उनी काठमाडौं भ्रमणबाट फर्किएपछि बाँकी मन्त्रीहरूको शपथ गराएर मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी भइरहेको छ ।
छ दलको समर्थनमा बनेको यादव नेतृत्वको सरकारप्रति स्थायित्व र प्रभावकारी शासनको अपेक्षा गरिएको भए पनि मन्त्रीपरिषद विस्तारमा भएको ढिलाइले सरकारको गति र प्राथमिकतामाथि प्रश्न उठाएको छ ।
स्रोतका अनुसार, मंगलबारसम्म मन्त्रीपरिषद विस्तार गरिने तयारी रहेको छ भने जसपा नेपालका एक नेताले समेत पुष्टि गरेका छन् ।