बाराको परवानीपुर गाउँपालिकाले अत्यधिक चिसोका कारण विद्यालयमा बालबालिकाको उपस्थिति न्यून भएपछि गाउँपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ७ गतेदेखि पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठन–पाठन बन्द रहनेछ । उक्त बिदा वर्षे बिदाबाट कट्टी गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारद्वारा जारी सूचनाअनुसार पुस १३ गते आइतबारदेखि विद्यालयहरू तोकिएको समयअनुसार पुनः सञ्चालन हुनेछन् । साथै बिदाको अवधिमा मौसम अनुकूल भएमा स्वतः विद्यालय सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ ।
अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको गाउँपालिकाले स्पष्ट पारेको छ ।