नवलपरासी (बर्दघाट सुस्तापूर्व) – नवलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नयाँ नगर अस्पताल भवन निर्माण भएको छ । चोरमारामा निर्माण भएको उक्त भवनको आइतबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
नगर प्रमुख भीमलाल अधिकारीका अनुसार, बिसं २०७९ मंसिरमा शिलान्यास गरी तीन वर्षको अवधिमा भवन निर्माण सम्पन्न भएको हो । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ शय्याको नगर अस्पतालमा पुनःनिर्माण गरिएको छ ।
नवनिर्मित दुई तलाको अस्पतालमा ४२ कोठा रहेका छन् । भवनमा बहिरङ्ग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष समावेश छन् ।
नगर प्रमुख अधिकारीले बताए अनुसार, नयाँ अस्पतालले नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाई पनि स्वास्थ्य सेवा लिन सहज बनाउनेछ । यसै महिनादेखि एमडिजिपीसहित दैनिक रूपमा एउटा विशेषज्ञ सेवा प्रदान गर्ने तयारी गरिएको छ । बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी तथा शल्यक्रिया सहितको आँखा उपचार सेवा पनि सञ्चालनमा ल्याइएको छ ।
अस्पतालका प्रमुख अमरेशचन्द्र साहले बताए अनुसार, अहिले दैनिक करिब ३०० बिरामीले उपचार सेवा लिइरहेका छन् । आकस्मिक उपचार सेवा पनि सञ्चालनमा छ र पूर्व–पश्चिम राजमार्ग नजिक भएको कारण राजमार्ग क्षेत्रमा सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन सहयोग पुगेको छ ।
नगर प्रमुख अधिकारीले भने, “सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुँदा यस क्षेत्रका बासिन्दाले नजिकै सहज रुपमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा लिन सक्नेछन् ।”