पर्सा जिल्लामा केही समयदेखि रोकिएको लागूऔषध गाँजाको अवैध खेती नष्ट गर्ने प्रहरीको अभियान पुनः सुरु भएको छ ।
जिल्लाका विभिन्न स्थानमा लुकीछिपी अवैध रूपमा गरिएको गाँजा खेती जिल्ला प्रहरी कार्यालय पर्साले यसअघि मातहतका प्रहरी कार्यालय तथा चौकीमार्फत अभियान चलाएर नष्ट गर्दै आएको थियो । तर, केही महिनायता उक्त अभियान स्थगित भएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा नयाँ प्रमुखका रूपमा प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक आएपछि सोमबारदेखि पुनः गाँजा खेती फडानी तथा नष्ट अभियान सुरु गरिएको हो ।
यसै क्रममा सोमबार जिराभवानी गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकामा गरी करिब साढे तीन कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरेर नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको १५ जना प्रहरी टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर ५ हरैयास्थित भलुवाही खोलाको बगरमा लगाइएको अन्दाजी एक कठ्ठा र पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ फरहदवामा अन्दाजी दुई दशमलव पाँच कठ्ठा गरी कुल तीन दशमलव पाँच कठ्ठा जमिनमा लगाइएको गाँजा खेती फडानी गरेको हो ।
ती दुवै स्थानबाट करिब सात हजार पाँच सयवटा गाँजाका बोट फडानी गरिएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
प्रहरी उपरीक्षक पाठकले सोमबारदेखि सुरु गरिएको गाँजा खेती फडानी तथा नष्ट अभियान निरन्तर जारी रहने बताए । त्यसका लागि जिल्लाभर रहेका मातहतका सबै प्रहरी युनिटलाई आवश्यक निर्देशन दिइसकिएको पनि उनले जानकारी दिए ।
जिल्लाको कुनै पनि स्थानमा कसैले गाँजाको खेती गरेको जानकारी भए प्रहरीलाई सूचना दिएर सहयोग गर्न प्रहरी उपरीक्षक पाठकले जिल्लाबासीसँग सार्वजनिक अपिल गरेका छन् ।