विद्यार्थी र स्थानीय सरकारबीच प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यसहित मंगलबार सिमरामा ‘मेयरसंग विद्यार्थी’ कार्यक्रम आयोजना गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र एकता स्कुलका विद्यार्थीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यार्थीहरूले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयको शैक्षिक अवस्था, शिक्षाको गुणस्तर सुधारका योजना, विद्यार्थीमैत्री स्थानीय सरकार, डिजिटल शिक्षा, छात्रवृत्ति, विद्यालयको भौतिक पूर्वाधार, खेलकुद विकास, अध्ययनपछि रोजगारी, सीपमूलक तथा व्यावसायिक तालिम, उपमहानगरपालिकाको सेवा प्रवाह र प्रविधिमैत्री नगर निर्माणसम्बन्धी जिज्ञासा राखेका थिए ।
विद्यार्थीको प्रश्नको उत्तर दिँदै नगर प्रमुख पौडेलले शिक्षा क्षेत्रलाई उपमहानगरपालिकाको प्राथमिकतामा राखिएको बताए । उनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक तालिम, भौतिक पूर्वाधार विस्तार र प्रविधिको प्रयोग बढाइरहेको जानकारी दिए ।
निजी तथा सामुदायिक विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक भएको उल्लेख गर्दै नगर प्रमुख पौडेलले सबै विद्यालयमा समान अवसर र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय सरकारले भूमिका खेलिरहेको बताए। डिजिटल शिक्षाको सन्दर्भमा विद्यालयहरूमा स्मार्ट कक्षा, कम्प्युटर प्रयोगशाला र इन्टरनेट सुविधाको विस्तार गरिने पनि उनले जनाए ।
आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमलाई प्रभावकारी बनाइने प्रतिबद्धता पनि नगर प्रमुखले व्यक्त गरे । खेलकुद पूर्वाधार र प्रतियोगितामा प्राथमिकता दिँदै, अध्ययनपछि युवालाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थानीय तहमा सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गरिने योजना उनले प्रस्तुत गरे ।
नागरिकमैत्री प्रशासन र डिजिटल सेवा विस्तार गर्दै सुशासन कायम गर्नेमा स्थानीय सरकार प्रतिबद्ध रहेको नगर प्रमुखले स्पष्ट पारे । उनले विद्यार्थीहरूलाई सचेत, जिम्मेवार र सकारात्मक सोच भएका नागरिक बन्न आग्रह गर्दै स्थानीय विकासमा सक्रिय सहभागिताको अपेक्षा व्यक्त गरे ।
एकता स्कुलले पहिलो पटक आयोजना गरेको ‘मेयरसंग विद्यार्थी’ कार्यक्रममा शिक्षक दिवस न्यौपानेले सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यार्थीमा नेतृत्वप्रति विश्वास बढाउने, लोकतान्त्रिक अभ्यास सिकाउने र स्थानीय सरकार तथा नागरिकबीचको दूरी घटाउने उद्देश्य राखिएको छ ।