आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै आम जनता पार्टीले रौतहट निर्वाचन क्षेत्र नम्बर–४ बाट ऋषि धमलालाई उम्मेदवारका रूपमा एकल नाम सिफारिश गरेको छ ।
सोमबार सम्पन्न क्षेत्रीय बैठकले धमलाको नाम सर्वसम्मत रूपमा सिफारिश गर्ने निर्णय गरेको हो । बैठक रौतहट–४ का क्षेत्रीय अध्यक्ष सरोज बछारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
पार्टीका केन्द्रीय तथा स्थानीय तहमा भएका व्यापक छलफल, सुझाव र मूल्याङ्कनपछि धमलालाई उम्मेदवारको रूपमा अघि सारिएको आम जनता पार्टीले जनाएको छ । पार्टीको भनाइअनुसार, जनताको हक–अधिकार, सामाजिक न्याय, सुशासन र समावेशी विकासको पक्षमा निरन्तर सक्रिय तथा जनसमस्यासँग प्रत्यक्ष रूपमा जोडिएको नेतृत्व भएकाले उनको नाम एकल रूपमा सिफारिश गरिएको हो ।
पार्टीले धमलाको उम्मेदवारीले रौतहट–४ मा नयाँ राजनीतिक विश्वासको निर्माण गर्दै परिवर्तनको आधार तयार गर्ने अपेक्षा गरिएको उल्लेख गरेको छ ।
आम जनता पार्टीले यस क्षेत्रलाई परिवर्तनको केन्द्र बनाउने लक्ष्यसहित भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य सेवाको सुधार, साथै किसान, मजदुर र युवाको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाएको छ ।
पार्टीका सचिवालय सदस्य रामशरण यादवका अनुसार आगामी दिनमा जनतासँग प्रत्यक्ष संवाद, संगठन विस्तार र जनमुखी एजेन्डाका साथ निर्वाचन अभियानलाई थप तीव्र बनाइने योजना रहेको छ ।