वीरगञ्जस्थित नारायणी अस्पतालमा मंगलबार साँझ आगलागी भएको छ । अस्पतालको ऐश्वर्य प्रसूती गृह भवनमा रहेको एनआईसीयु (NICU) वार्डमा आगो लागेको हो ।
प्रहरीका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । प्रारम्भिक अनुसन्धानमा एनआईसीयु वार्डमा जडान गरिएको एसीको विद्युतीय तार सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
अस्पतालका चिकित्सक डा. दीपक चौरसियाका अनुसार आगलागीबाट एनआईसीयु वार्डमा जडान गरिएको एक थान एसी जलेर नष्ट भएको छ भने अन्य कुनै भौतिक क्षति भएको छैन ।
मंगलबार साँझ करिब ४ः३० बजेतिर आगो लाग्नेबित्तिकै अस्पतालका कर्मचारीहरूले तुरुन्तै बिजुलीको लाइन काटेका कारण ठूलो दुर्घटना टरेको डा. चौरसियाले बताए । साथै, अस्पतालमै उपलब्ध फायर ग्यास सिलिन्डरको प्रयोग गरी आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।
आगलागीको खबर पाउनासाथ वीरगञ्ज महानगरपालिकाको कार्यालयबाट दमकल (वारुण यन्त्र) पनि घटनास्थलमा पुगेको थियो, तर आगो नियन्त्रणमा आइसकेकाले त्यसको प्रयोग गर्नु नपरेको अस्पतालले जनाएको छ ।
आगो लागेका बेला एनआईसीयु वार्डभित्र कुनै पनि बिरामी शिशु नरहेको जानकारी पनि अस्पताल प्रशासनले दिएको छ ।