सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि दोषी पहिचान हुन नसक्दा प्रहरीको अनुसन्धानप्रति प्रश्न उठेको छ ।
घटनाको प्रकृति अत्यन्त संवेदनशील र गम्भीर हुँदाहुँदै पनि अपेक्षित प्रगति हुन नसकेको भन्दै पीडित परिवार र स्थानीयवासीले प्रहरीको अनुसन्धानप्रति प्रश्न उठाएको हाे ।
गत मङ्सिर २२ गते कर्जन्हा नगरपालिका–२ बन्दीपुरस्थित नेपाल राष्ट्रिय फूलकुमारी माध्यमिक विद्यालय नजिकैको झाडीमा अविनाको शव फेला परेको थियो । प्रारम्भिक अवस्थाले गम्भीर आपराधिक घटनाको संकेत गरे पनि यतिका दिन बितिसक्दा समेत मुख्य अभियुक्त सार्वजनिक हुन नसक्नुले अनुसन्धानप्रति आशंका बढेको स्थानीयको भनाइ छ ।
मृतककी आमा दयावती दनुवारले छोरी गुमाएको पीडामाथि प्रहरीको ढिलासुस्तीले थप पीडा दिएको बताइन् । “छोरीको हत्या भएको तीन साता बितिसक्यो, तर आजसम्म दोषी को हो भन्ने थाहा छैन । हामीजस्ता गरिबको आवाज कसैले सुन्दैन,” भन्दै उनले न्यायको माग गरिरहेकि छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले अनुसन्धान निरन्तर भइरहेको दाबी गरेका छन् । उनका अनुसार घटनालाई विभिन्न कोणबाट अध्ययन गर्दै प्रमाण संकलन र विश्लेषणको काम जारी छ ।