बारा प्रहरीले लागू औषध अफिम जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–१० का ३२ वर्षीय राजेश साह, सोही स्थानका २९ वर्षीय नागेन्द्र साह र २२ वर्षीय ज्ञानेन्द्र राम रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार इलाका प्रहरी कार्यालय कोल्हवी र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगन्जबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा कोल्हवी नगरपालिका–०१ बजारस्थित तामागढीबाट श्रीपुरतर्फ जाँदै गरेको प्र.२–०३–००५ प ६३१२ नम्बरको टिभिएस मोटरसाइकल शंकास्पद लागेपछि प्रहरीले जाँच गरेको थियो ।
चेकजाँचका क्रममा मोटरसाइकलमा सवार व्यक्तिहरूमध्ये राजेश साहको साथबाट लुकाइछिपाइ राखिएको ४६० ग्राम लागू औषध अफिम जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार लागू औषध ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा ती तीनै जना र प्रयोग गरिएको मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।