देवचुली नगरपालिकामा १० करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको ट्रमा सेन्टर (अस्पताल) को काम अलपत्र परेको छ ।
नौ महिनाअघि निर्माण सुरु भएको ट्रमा सेन्टरको ठेक्का लिएको निर्माण कम्पनी बीबीएस जेभी भरतपुरले भवनको डिपिसी गर्दागर्दै काम छाडेपछि निर्माण कार्य रोकिएको हो । दुई तले भवनका लागि डिपिसी बिममा बुनिएका रडमा फर्मा बाँधेर ढलान नै नगरी छाडिएको अवस्थामा छ ।
डिपिसीसमेत पूरा नगरी काम छाडिएकाले प्रयोग गरिएको डण्डीमा खिया लागिसकेको स्थानीय अमृत तमाङले बताए। लामो समयदेखि निर्माण रोकिँदा भवन संरचनाको गुणस्तरमै असर पर्ने स्थानीयको चिन्ता छ ।
भवन निर्माणको अनुगमन गर्ने सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरका प्रमुख कृष्ण मर्हजनका अनुसार ठेकेदारले रड राख्दा केही प्राविधिक नमिलेका कारण काम रोकिएको हो ।
‘म कार्यालयमा नयाँ आएको हुँ, साइड हेर्ने इन्जिनियर पनि नयाँ आउनुभएको छ। अब चाँडै काम सुरु होला,’ मर्हजनले बताए ।
देवचुली नगरपालिका–१७ झराही खोलानजिकै नौ महिनाअघि अढाइ तले ट्रमा सेन्टरको निर्माण सुरु गरिएको हो । ठेक्का सम्झौताअनुसार २०८३ साल पुससम्म निर्माण सम्पन्न गरी भवन हस्तान्तरण गर्नुपर्ने उल्लेख छ । कम्पाउण्डसहित निर्माण भइरहेको उक्त भवनबाट ट्रमा सेन्टर सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ ।