जनकपुरधाम | मधेश प्रदेशमा बालविवाहको अवस्था भयावह बनेको भन्दै यसलाई नियन्त्रण गर्न जनचेतना फैलाउनुका साथै छोराछोरीलाई शिक्षित बनाउन आवश्यक रहेको बताइएको छ ।
मंगलबार जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र धनुषासँगको समन्वयमा लाइफ नेपालले आयोजना गरेको बालविवाहविरुद्धको प्रहरी स्वतःस्फूर्त कारवाही सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले बालविवाह रोकथाममा कानुनको कडाइको कार्यान्वयन नहुँदा घटनाहरु बढ्दै गएको बताएका छन् ।
कार्यक्रममा मधेश प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव निर्मला मिश्रले भागी विवाहको समस्या विकराल बन्दै गएको र यसको रोकथामका लागि सरोकारवालाहरुको साझा प्रयास आवश्यक रहेको बताइन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका बरिष्ठ प्रहरी नायब निरीक्षक टेकबहादुर कार्कीले बालविवाहको घटना भएमा प्रहरी स्वतःस्फूर्त रुपमा स्थानीय सरकारसँग समन्वय गरी कारवाही अघि बढाउने जानकारी दिएका छन्। उनले अभिभावकले बालिका हराएको उजुरी दिएका अवस्थामा शून्य सहनशीलताको सिद्धान्त अपनाएर अनुसन्धान अगाडि बढाइने पनि बताएका छन् ।
लाइफ नेपालकी पूजा शर्माले कार्यक्रममा मधेश प्रदेशमा बालविवाहको अवस्था र कानुनी व्यवस्थाबारे प्रस्तुति दिँदै सन् २०१९ को राष्ट्रिय हेल्थ सर्भे अनुसार प्रदेशमा ५२.५ प्रतिशत बालविवाह भएको र धनुषामा मात्र ५८.५ प्रतिशत रहेको तथ्याँक प्रस्तुत गरिन् ।
कार्यक्रममा नगर बाल सञ्जाल जनकपुरधामका अध्यक्ष वैष्णवी साह, विभिन्न पालिकाका महिला बालबालिका शाखाका प्रमुख, साथै लाइफ नेपालका लक्ष्मी साह, डोली शर्मा, सुचिता झा, शहिदा खातुन लगायतले धारणा राखेका थिए ।