बारा र सप्तरीका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका–३ ब्रह्मस्थानबाट अवैध लागूऔषध गाँजा सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख इन्स्पेक्टर कृष्णदेव साहका अनुसार पक्राउ पर्नेमा पचरौता नगरपालिका–३ रामनगर निवासी ३३ वर्षीय राजकुमार कुशवाहा र २८ वर्षीय पुनदेव पटेल रहेका छन् । उनिहरूकाे साथबाट करिब १० किलोग्राम गाजाँ बरामद भएकाे प्रहरीले जनाएकाे छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा प्रहरी चौकी अमृतगञ्ज खजानीबाट खटिएको प्रहरी टोलीले ना. ५४ प ६१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो ।
यस्तै, सप्तरीको सुरूङ्गा नगरपालिका–१ सुस्लिङ टोलबाट नियन्त्रित लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका–३ रामजानकी टोल निवासी २२ वर्षीय रूपेश कुमार चौधरी रहेका छन् ।
इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी टोलीले प्रदेश–१–०५–००१ प ९०८८ नम्बरको मोटरसाइकलमा सवार चौधरीलाई नाइट्राजेपाम ५० ट्याबलेट, स्पास्मो प्रोक्सिभन ४० ट्याबलेट, डाइजेपाम १५ एम्पुल, बुप्रेनोर्फिन १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सबैजनालाई लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।