महोत्तरी । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कृषि क्षेत्रलाई प्रदेश सरकारको पहिलो प्राथमिकतामा राखेर काम गरिने बताएका छन् ।
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेशद्वारा मुख्यमन्त्रीको स्वागतमा आज महोत्तरीको लालगढमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै उनले कृषिसम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने स्पष्ट पारे ।
“मधेसलाई समृद्ध बनाउन कृषिको आधुनिकीकरण अपरिहार्य छ,” मुख्यमन्त्री यादवले भने, “त्यसका लागि दुई वर्षभित्र सम्पन्न हुने गरी सिँचाइसम्बन्धी आयोजनाहरू अघि बढाइएका छन् ।” सिँचाइको विस्तारसँगै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न किसानलाई आवश्यक सहयोग तथा कार्यक्रमहरू विस्तार गरिने उनले जानकारी दिए ।
मधेस प्रदेश कृषिका लागि उर्वर भए पनि आवश्यक स्रोत, साधन र पूर्वाधारको अभावका कारण किसानले अपेक्षित उत्पादन लिन नसकेको मुख्यमन्त्री यादवको ठम्याइ छ । अब प्रदेश सरकारको ध्यान कृषि संसाधन जुटाउने र किसानलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुने उनले बताए ।
सो अवसरमा मुख्यमन्त्री यादवले मधेस प्रदेशको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि विशेष योजनासहित काम गर्नुपर्ने आवश्यकता औंल्याए । साथै प्रदेशको मध्यभागमा पर्ने बर्दिबासदेखि ढल्केबरसम्म पर्यटन पूर्वाधार विकासका लागि विशेष योजना निर्माण गरिने जानकारी पनि दिए ।
कार्यक्रममा आयोजक नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ, मधेस प्रदेश समितिले मुख्यमन्त्री यादवलाई सम्मान पत्र प्रदान गरेको छ । कार्यक्रम महासंघ मधेस प्रदेश अध्यक्ष हीरालाल गौतमको अध्यक्षतामा सम्पन्न भएको हो ।