जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मन्त्रालयका कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक, नतिजामुखी र किसानमैत्री काम गर्न निर्देशन दिएका छन् ।
शपथग्रहणपछि आयोजित परिचयात्मक कार्यक्रममा मन्त्री पटेलले स्पष्ट शब्दमा “अब भाषण र झारा टार्ने शैली चल्दैन, काम देखिनुपर्छ । भन्दै चेतावनी दिएका छन् –” उनले कर्मचारीहरूलाई लक्षित गर्दै भने, “म भाषण होइन, काम मन पराउँछु । कागज मै सीमित योजना र ढिलासुस्ती अब स्वीकार्य हुँदैन ।” मन्त्री पटेलले मधेस प्रदेश कृषिमा आधारित भएकोले यहाँका किसान गम्भीर समस्यामा रहेको उल्लेख गरे ।
उनले मलखाद्य अभाव, सिँचाइको समस्या, उत्पादन लागत र बजार व्यवस्थापनजस्ता मुद्दामा कर्मचारीहरूले अझै संवेदनशीलता नदेखाएकोप्रति असन्तुष्टि व्यक्त गरे । “किसानका समस्या टार्ने होइन, समाधान गर्ने जिम्मेवारी तपाईँहरूको हो। झारा टार्ने काम मलाई मन पर्दैन, र अब त्यो चल्ने पनि छैन ।”
मन्त्री पटेलले मधेस प्रदेशलाई कृषिमा देशकै नमुना प्रदेश बनाउन कर्मचारीहरूको भूमिका निर्णायक हुने बताए र सबैलाई दत्तचित्त भएर मैदानमा काम गर्न निर्देशन दिए । कार्यक्रममा कर्मचारीहरूले प्रदेशको कृषि अवस्था, किसानका विद्यमान समस्या र चुनौतीबारे मन्त्री पटेललाई ब्रिफिङ दिएका थिए । ब्रिफिङपछि मन्त्री पटेलले समस्या थाहा पाएर पनि निष्क्रिय बस्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
किसानलाई सहज, छरितो र प्रभावकारी सेवा प्रवाह नदेखिए मन्त्रालय मै जवाफदेहिता खोजिने पटेलले बताएका थिए ।