विशेष अदालतले घुस लिएर भ्रष्टाचार गरेको आरोपमा थुनामा पठाउन आदेश दिएलगत्तै पूर्वमन्त्री राजकुमार गुप्ता जेलजानु अगाडी फेसबुक मार्फत प्रतिक्रिया दिएका छन् ।
पर्सा क्षेत्र नम्बर ३ का निवर्तमान सांसद तथा नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका गुप्ताले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन् । बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्री गुप्ताले आफू फेरि निर्वाचन जित्ने निश्चित देखिएपछि डराएका शक्तिहरूको षड्यन्त्रका कारण आफू अन्यायमा परेको दाबी गरेका छन् । उनले फेसबुकमा लेख्दै, ‘म जित्छु भनेर सरकार डरायाे, म माथि राजनीतिक प्रतिशोध साँधिएकाे बताएका छन्’ ।
“यो मुद्दामा मलाई मात्र थुनामा राख्ने आदेश हुनु र सोही प्रकरणमा संलग्न अन्य दुई जनालाई धरौटीमा छाडिनु आफैंमा गम्भीर प्रश्नको विषय हो । कानुन सबैका लागि समान हुन्छ भन्ने सिद्धान्तमाथि यसले गहिरो चोट पुर्याएको उनले फेसबुमा लेखेका छन् ।”
गुप्ताले आफूविरुद्ध उठाइएका आरोपभन्दा बढी यहाँ राजनीतिक प्रतिशोध र सरकारी हस्तक्षेप स्पष्ट देखिएको उल्लेख गरेका छन् । “सरकारलाई मेरो राजनीतिक हैसियत र जनसमर्थनबाट डर लागेको छ । मैले जितेको निर्वाचन क्षेत्र म फेरि जित्छु भन्ने विश्वास र त्यसले नेकपा एमालेको जित सुनिश्चित हुने डरका कारण मलाई लक्षित गरेर यस्तो कदम चालिएको हो,” उनले स्टाटसमा लेखेका छन् ।
उनले सत्य दबाएर, न्यायलाई मोडेर र विपक्षी आवाज थुनामा राख्ने प्रयास दीर्घकालसम्म टिक्न नसक्ने भन्दै आफू न्यायमा विश्वास गर्ने र अन्ततः सत्यकै जित हुनेमा अडिग रहेको बताएका छन् । “जनताको मत र समर्थन नै मेरो सबैभन्दा ठूलो शक्ति हो । संघर्षबाट म डराउँदिन, अन्यायसँग म झुक्दिन,” उनले उल्लेख गरेका छन् ।
यसअघि बुधबार विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले गुप्तालाई थुनामा राखी मुद्दा अघि बढाउन आदेश दिएको थियो । विशेष अदालतमा उपस्थित भएका गुप्ताको बयानपछि थुनछेक बहस सम्पन्न भएको थियो । गत असार ३१ गते बिचौलियासँग घुससम्बन्धी संवाद सार्वजनिक भएपछि विवादमा तानिएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले पदबाट राजीनामा दिएका थिए ।
पर्सा–३ का निवर्तमान सांसद तथा एमालेका पुर्व केन्द्रीय सदस्य गुप्ता र एक बिचौलियाबीच आर्थिक लेनदेनसम्बन्धी अडियो सार्वजनिक भएपछि उनलाई बर्खास्त गर्न मागसमेत उठेको थियो ।
सार्वजनिक अडियोमा बिचौलियाले भूमि आयोग कास्कीको अध्यक्षमा खेमबहादुर पुनलाई नियुक्त गराउन तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई फोन गरिदिन गुप्तासँग आग्रह गरेको थियो ।