बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार चोरी, चेक अनादर, लेनदेन विगो तथा सवारी ज्यान मुद्दामा फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा विभिन्न इकाइबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत, कलैयाबाट दण्ड–सजाय तोकिएका तथा वारदात पश्चात फरार रहेका प्रतिवादीहरूको खोजतलास गर्दै लुकिछिपी बसेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरी मुद्दामा २० हजार रुपैयाँ जरिवाना सजाय तोकिएका जितपुर सिमरा उपमहानगरपालिका–२१ निवासी ४५ वर्षीय विनयकुमार साहलाई पक्राउ गरेको छ । यस्तै, चेक अनादर मुद्दामा ५ सय रुपैयाँ जरिवाना सजाय पाएका जितपुर सिमरा उपमहानगरपालिका–९ निवासी ५४ वर्षीय रामाकान्त हजरा दुसाद पनि पक्राउ परेका छन् ।
त्यसैगरी चेक अनादर मुद्दामा राममिलन प्रसाद कलवार, नन्दकिशोर जयसवाल, राजकिशोर सिंह र तनवीर देवान, लेनदेन विगो मुद्दामा चन्द्रदेव चौधरी, सवारी ज्यान मुद्दामा बाबुलाल साह कानु तथा चोरी मुद्दामा सुरज पटेललाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ ।