रौतहट । रौतहट सदरमुकाम गौरमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने निर्णयविरुद्ध उद्योग वाणिज्य सङ्घ रौतहटले सुरु गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएका छन् ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालको पहलमा उद्योग वाणिज्य सङ्घ, राजनीतिक दल, नागरिक समाजलगायत सरोकारवालाबीच भएको वार्तामा सहमति जुटेसँगै आन्दोलन फिर्ता लिने निर्णय गरिएको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न वार्तापछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष रबिन्द्रनाथ गोपालीले जानकारी दिनुभयो ।
सहमति अनुसार स्थानीय तह तथा कोष तथा लेखा नियन्त्रक कार्यालयको क्षमता विकास गरी तोकिए बमोजिमका सेवाहरू स्थानीय तहबाटै प्रदान गर्ने, गौरमा आन्तरिक राजस्व कार्यालय स्थापना गर्न जिल्लाका सरोकारवालाहरूले पहल गर्ने तथा हाल करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण सेवाहरू करदातालाई कुनै समस्या नपर्ने गरी स्थानीय तह र कोष तथा लेखा नियन्त्रक कार्यालयको क्षमता विकास नभएसम्म करदाता सेवा कार्यालय गौरबाटै निरन्तर सञ्चालन गर्न अर्थ मन्त्रालयसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।
उक्त सहमतिलाई लिखित रूपमा अभिलेख गरिएको अध्यक्ष गोपालीले बताउनुभयो ।
वार्तामा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाल, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रबिन कार्की, नेकपा रौतहटका नेता रेवन्त झा, उद्योग वाणिज्य सङ्घ रौतहटका अध्यक्ष रबिन्द्रनाथ गोपाली, निर्माण व्यवसायी सङ्घ रौतहटका प्रतिनिधि अरविन्द जयसवाल, नागरिक समाज रौतहटका अध्यक्ष जगन्नाथप्रसाद केशरीलगायतको सहभागिता रहेको थियो ।
यसअघि करदाता सेवा कार्यालय खारेजको विरोधमा उद्योग वाणिज्य सङ्घ रौतहटले विरोध प्रदर्शन, कार्यालयको मूलगेटमा धर्ना तथा कार्यालयमा तालाबन्दी जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।