जनकपुरधाम । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) ले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियालाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
शुक्रबार सम्पन्न निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले क्षेत्रीय संयोजक जामुनरान यादवको अध्यक्षतामा अरगरियाको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। क्षेत्रीय संयोजक यादवका अनुसार यसपटक पनि अरगरियालाई आफ्नै गृह जिल्ला धनुषाबाट प्रतिनिधि सभा सदस्यका लागि एकल रूपमा अघि सारिएको हो ।
अरगरिया यसअघि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । पार्टीभित्र अनुभवी र संगठनात्मक रूपमा सक्षम नेताका रूपमा परिचित अरगरियाको उम्मेदवारीलाई स्थानीय तहदेखि केन्द्रसम्म सकारात्मक रूपमा लिइएको बताइएको छ ।