वीरगंज महानगरपालिका–१० घडिअर्वास्थित श्मशान घाटमा रहेको ऐतिहासिक शिव–पार्वती मन्दिरको व्यवस्थापनका लागि नयाँ नेतृत्व चयन भएको छ । स्थानीयवासीले शनिबार बिहान बसेको भेलाले अजय गुप्तालाई अध्यक्षमा चयन गर्दै शिव–पार्वती मन्दिर व्यवस्थापन समितिको तदर्थ समिति सर्वसम्मत रूपमा गठन गरेको हो ।
समितिको उपाध्यक्षमा नन्दु साह कानु, सचिवमा बन्टीलाल साह कानु र कोषाध्यक्षमा राकेश साह कानु चयन भएका छन् । यस्तै, वीरगन्ज–१० का पूर्व वडासदस्य अरबिन्द साहलाई समितिको सल्लाहकारमा मनोनित गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए ।
भेलाले समितिका अन्य सदस्यहरूको मनोनयन गर्ने अधिकार अध्यक्ष गुप्तालाई सर्वसम्मत रूपमा प्रदान गरेको छ । साथै, नवगठित तदर्थ समितिलाई आगामी तीन महिनाभित्र संस्थाको विधान तयार गरी कानुनी मान्यता प्राप्त गर्ने जिम्मेवारी दिइएको छ ।
नयाँ समितिले स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, मन्दिर व्यवस्थापनलाई व्यवस्थित बनाउने तथा श्रद्धालुहरूको सुविधा विस्तारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।