रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका केन्द्रीय सदस्य कुन्दन कुशवाहालाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको छ ।
शनिबार गुजरा नगरपालिकामा सम्पन्न क्षेत्रीय कार्यकर्ता भेलाले प्रत्यक्षतर्फ कुशवाहाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । क्षेत्रीय संयोजक युवराज ज्ञवालीका अनुसार स्थानीय तहका जनप्रतिनिधि, वडा प्रतिनिधि तथा क्षेत्रीय समितिका सदस्यहरूको भेलाले कुशवाहाको नेतृत्व क्षमता र क्षेत्रप्रतिको जिम्मेवारीलाई उच्च मूल्याङ्कन गर्दै उक्त निर्णय लिएको हो ।
सिफारिस कार्यक्रममा मधेस प्रदेशका पूर्व सांसदसमेत रहेका कुशवाहाको समर्थनमा प्रदेश सांसद केशव राय चौधरी, पूर्व मन्त्री नागेन्द्र यादव र देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साहलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
कुन्दन कुशवाहा तत्कालीन कटहरिया गाविसका अध्यक्ष जादोलाल महतोका जेठा छोरा हुन् । उनी २०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ सालमा प्रभु साह नेतृत्वको समूहबाट स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका उनी पराजित भएका थिए ।
गत वर्ष मात्र आम जनता पार्टी परित्याग गरी एमाले प्रवेश गरेका कुशवाहा यस पटक प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत रूपमा सिफारिस हुन सफल भएका छन् ।